काठमाण्डु , २ चैत – काठमाडौँ उपत्यकामा ६० प्रतिशत खानेपानी निर्यात गर्ने सुन्दरीजल क्षेत्रका स्थानीयवासीले भने खानेपानी नपाएर काककुल बन्नु परेको गुनासो गरेका छन् ।
बर्खायाममा दैनिक १९ लाख लिटर खानेपानी उपत्यकामा निर्यात गर्दै आएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड सुन्दरीजलले सुक्खायाममा भने दैनिक सातदेखि आठ लाख लिटर पानी उपत्यकामा वितरण गर्ने गरेको प्रमुख वसन्त पालले बताए ।
बागमती, नागमती र स्यालमती गरी तीनवटा नदीको पानी जम्मा गरी उपत्यकामा सबैभन्दा धेरै पानी निर्यात गर्ने यस क्षेत्रका बासिन्दाले आफैँ खानेपानी नपाउनु बत्तीमुनिको अँध्यारो जस्तै भएको स्थानीय श्याम श्रेष्ठले दुखेसो पोखे ।
केयुकेएल सुन्दरीजलका प्रमुख पाल भने चौबिसै घण्टा खानेपानी दिँदा पनि स्थानीयवासीले खेतबारीमा लगाउने र नक्कली धारा जोडेर व्यापक रुपमा खानेपानीको दुरुपयोग गर्ने गरेकाले बिहान ५ देखि ९ बजेसम्म मात्र सुन्दरीजल क्षेत्रमा पानी छोड्न थालिएको बताउँछन् ।
केयुकेएल सुन्दरीजललाई हेर्ने महाङ्कालचौर शाखा कार्यालयका प्रमुख राजीव जोशी भने बारीमा पानी लाउने र नक्कली धारा जोडेर मिटरमा पानी चढेको नदेखाउने लगायतका सामाजिक समस्या रहेको बताए ।