सोलुखुम्बु, ३० फागुन – पर्यटकीय बजार लुक्ला र आसपासमा भुस्याहा कुकुरले टोकेर मानिसहरुलाई हैरान बनाउन थालेको छ ।
पासाङ ल्हामु निकोल निकी अस्पताल चौरीखर्क–८ लुक्लाको तथ्याङ्कअनुसार गत जनवरी र फेबुअरीमा मात्र १३ जना व्यक्तिलाई कुकुरले टोकेर उपचार गराएका छन् । सन् २०१३ मा कुकुरले टोकेका २९ जनालाई उपचार गराएको अस्पतालले जनाएको छ ।
बजारक्षेत्रमा रहेका भुस्याहा कुकुरले केटाकेटी तथा भरियालाई टोकेको र उपचारका लागि आउने बिरामीको सङ्ख्या विगतको भन्दा बढेको अस्पतालका इन्चार्ज पासाङ ल्हामु शेर्पाले जानकारी दिए ।
चौरीखर्कको बजार क्षेत्रमा पर्यटकलाई समेत कुकुरले टोक्न सक्ने भन्दै सर्तक रहन सामुदायिक प्रहरी सेवा केन्द्र चांैरीखर्कले आग्रह गरेको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्र चौंरीखर्कले यसअघि नै कुकुर व्यवस्थापनका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय र सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयमा जानकारी गराएको अध्यक्ष नाम्गेल शेर्पाले बताए ।