
काठमाण्डु, ३० फागुन – ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो आधिकारीक अभ्यास खेलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको छ ।
नेपालले प्रस्तुत गरेको ९६ रनको झिनो लक्ष्य युएईले ७ बल अगावै ४ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालका लागि कप्तान पारस खड्का, वसन्त रेग्मी, सोमपाल कामी र शक्ति गौचनले १-१ विकेट लिएपनि टिमलाई जित दिलाउन सकेनन् ।
यसअघि बंगलादेशको फतुल्लाहमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओरभमा अलआउट हुँदै ९५ रन बनाएको थियो ।
नेपालका लागि सुवास खकुरेलले सर्वाधिक २८ रन बनाए ।
यस्तै कप्तान पारस खड्काले २७ र बसन्त रेग्मीले १० रन जोडे । नेपालका अरु कुनै पनि खेलाडीले दोहोरो अंकको स्कोर जोड्न सकेनन् ।
युएईका लागि सारिफ असदुल्लाहले तीन तथा कमरान शाहजादले दुई विकेट लिए ।