एक वर्षभित्र संविधान बनाउन सहयोग आवश्यक : उपाध्यक्ष घर्ती

काठमाण्डु टुडे २०७० फागुन २७ गते १२:०७ मा प्रकाशित

Onsari Ghartiकाठमाण्डु, २७ फागुन – संविधानसभाका उपाध्यक्ष ओनसरी घर्तीले एक वर्षभित्र संविधान निर्माणका लागि सञ्चार जगतलगायत सबै पक्षको साथ र सहयोग हुनुपर्नेमा जोड दिएकी छिन् ।

संविधानसभा तथा व्यवस्थापिका–संसद्को समाचार सङ्कलन गर्ने विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीसँग सुझाव लिने क्रममा उनले नेपाली जनताको चाहना र भावनाअनुसार संविधान निर्माण गर्नु मुलुकको प्रमुख दायित्व भएको भन्दै त्यसमा सहयोग गर्न आग्रह गरिन् ।

राज्यप्रतिको दायित्वलाई आत्मसात् गरी जिम्मेवार बनेर संविधान निर्माणमा जुट्नुपर्ने दायित्वबाट कोही पनि विमुख हुन नसक्ने उनको धारणा थियो ।

संविधानसभाको उपाध्यक्षको पद तटस्थ रहनुपर्ने भएपनि आफू परिवर्तनको पक्षधर संविधान निर्माणका लागि लागिपर्ने विश्वास उनले व्यक्त गरिन् ।

उपाध्यक्ष घर्तीले भनिन्, ‘महिलामैत्री संविधान निर्माण गराउन आफ्नोतर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्दछु, त्यसमा सबैको साथ र सहयोगको अपेक्षासमेत गर्दछु ।’ उपाध्यक्ष पदमा रहँदासम्म आफूले मुलुक, जनता र राष्ट्रलाई घाटा हुने कुनै पनि काम नगर्ने र हुन नदिने प्रतिबद्धता उनको छ ।

व्यवस्थापिका–संसद्का कोरम नपुग्ने, मन्त्रीहरु उपस्थित नहुने र विधि र प्रक्रियाभन्दा बाहिर गएर हुने गतिविधि हुन नदिन आफू प्रयत्नशील रहने उनले बताएकी छिन् ।

सञ्चारकर्मीहरुले उपाध्यक्ष घर्तीलाई जनअपेक्षाअनुसार संविधान निर्माण गर्न वातावरण बनाउन आग्रह गरेका थिए ।

अघिल्लो संविधानसभामा भए गरेका गल्ती तथा कमजोरीलाई नदोहो¥याउन र समयसीमालाई ख्याल गरेर अगाडि बढ्नसमेत सञ्चारकर्मीले उपाध्यक्ष घर्तीलाई सुझाव दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us