आफ्नै बाबुलाई गोली हान्ने जेल चलान

काठमाण्डु टुडे २०७० फागुन २६ गते १०:४४ मा प्रकाशित

jailगौशाला, २६ फागुन – आफ्नै बाबुलाई दुई पटक गोली हानी हत्याको प्रयास गरेका एक युवकलाई सोमबार जिल्ला अदालत महोत्तरीले पुर्पक्षका लागि जेल चलान गरेको छ ।

यसरी जेल चलान हुनेमा जिल्लाको कोल्हुवा बगेया गाविस–६ बस्ने वर्ष ३० का दीपु भनिने विमलेन्द्रकुमार शर्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

शर्मालाई जिल्ला अदालत महोत्तरीका अतिरिक्त न्यायाधीश अशोककुमार बस्नेतको इजलासबाट पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाउने आदेश भए अनुसार जेल चलान गरिएको प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले बताए ।

अभियुक्त युवक शर्मा आफ्नै बुबा रामजिनिश शर्मालाई २०६९ साउन २९ गते र कात्तिक २७ गते गरी दुई छुट्टाछुट्टै मितिमा गोली हानी हत्याको प्रयास गरेका थिए । तर उनी दुवै पटक सामान्य घाइते भई बाँच्न सफल भएका थिए ।

बाबुलाई गोली हानी हत्याको प्रयास गरेर फरार रहेका युवक शर्मा जिल्ला प्रहरीको सर्वाधिक खोजी सूचीमा रहँदै आएको थियो । जिप्रका महोत्तरीको विशेष प्रहरी टोलीले उनलाई माघ २७ घरैबाट पक्राउ गर्न सफल भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us