वैकल्पिक ऊर्जाको विकासमा जोड

काठमाण्डु टुडे २०७० फागुन २३ गते १२:३५ मा प्रकाशित

काठमाण्डु, २३ फागुन – मुलुकको ऊर्जा सङ्कटको समाधानका लागि वैकल्पिक ऊर्जालाई तीव्रतर रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिइएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र एसियाली विकास बैंकद्वारा संयुक्त  रुपमा शुक्रबार राजधानीमा आयोजित ‘सबैका लागि ऊर्जा’ विषयक कार्यक्रममा सहभागीहरुले सो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका सचिव सोमलाल सुवेदीले समग्र नवीकरणीय क्षेत्रको विकासका लागि वैकल्पिक उपायको खोजी गर्नुपर्ने बताए ।

नेपालमा नवीकरणीय ऊर्जाको प्रशस्त स्रोत रहेका छन् तर पनि यसको पूर्ण रुपमा उपयोग गर्न नसकिएको भन्दै उनले ग्रामीण क्षेत्रमा विद्युत्लगायतका नवीनतम् ऊर्जाको पहुँच पुग्न नसकेको उल्लेख गरे ।

सरकारले विभिन्न अन्तर्राष्ट्रिय विकास साझेदारहरुको सहयोगमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रममार्फत् वायोग्याँस, लघु तथा साना जलविद्युत्, सौर्य, जैविक, वायु ऊर्जालगायतका प्रविधिको प्रवद्र्धनमार्फत ऊर्जाको पहँुच बढाउँदै लगिएको जानकारी सचिव सुवेदीले दिए ।

कार्यक्रममा नेपालका लागि डेनमार्ककी राजदूत क्रिष्टिन गेलानले नेपालले नवीकरणीय ऊर्जाको क्षेत्रमा गरेको उपलब्धिको प्रशंसा गर्दै आगामी दिनमा यस्तो ऊर्जाको प्रयोगलाई बढाएर नेपालमै थप रोजगारीका अवसर सिर्जना गर्न तिर लाग्नुपर्ने बताईन् ।

उनले सरकारी निजी साझेदारी पद्धति नेपालको विद्यमान ऊर्जा सङ्कट समाधान गर्ने सूत्र भएको उल्लेख गरिन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक प्राडा गोविन्दराज पोखरेलले अनुदानको दायरा बढाएर नवीकरणीय ऊर्जामा आधारित नयाँ सम्भाव्य परियोजनाको खोजी, ज्ञान विस्तार र स्तरोन्नतिमा सहयोग पु¥याउने लक्ष्य केन्द्रको रहेको बताए ।

पछिल्ला दिनमा वैकल्पिक ऊर्जाको क्षेत्रमा चेतनाको विस्तार भएपनि सोचअनुरुप काम हुन नसकेको भन्दै उनले आगामी दिनमा अझ बृहत् रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिए ।

नवीकरणीय ऊर्जाका प्रविधिहरुमा थप लगानी प्रवद्र्धन र स्तरोन्नतिका लागि अन्तर्राष्ट्रिय कार्यशालाको आयोजना गरिएको हो । सो खालको  प्रविधिहरुमा उद्यमशीलता र लगानी बढाउन एसिया तथा प्यासिफिक क्षेत्रका ऊर्जा तथा योजनाविद्हरु काठमाण्डुमा जुटेका छन् ।

कार्यशालामा नवीकरणीय ऊर्जा बारेको नयाँ व्यावसायिक योजना, विकासमा देखापरेका चुनौतीलगायतका कार्यपत्र प्रस्तुत गरिएका थिए । नेपाल, चीन, फिलिपिन्स, भारत, म्यानमा, भुटान, पाकिस्तानलगायत १० भन्दा बढी देशका परियोजना विकास विज्ञ, नीतिगत तहका व्यक्तित्वलगायतको सहभागिता रहेको थियो  ।

कार्यक्रममा नवीकरणीय ऊर्जाका विस्तारमा अनुदानको ढाँचामा मात्र सिमित  नरही दिगो रुपमा वित्तीय लगानीको संयन्त्रको पहिचान गरी अगाडि बढ्ने सम्भाव्य मार्गको खोजी गरिएको कार्यकारी निर्देशक डा पोखरेलले जानकारी दिए ।

नवीकरणीय ऊर्जाका उद्यमीहरुले आफ्नो नयाँ उद्यम वा सञ्चालनमा रहेको उद्यमको स्तरोन्नतिको लागि आवश्यक लगानीकर्तासँग व्यापारिक सम्भाव्यताको छलफल गरिएको थियो ।

‘सबैको लागि ऊर्जा’ एसियाली विकास बैंकले सन् २०१५ सम्ममा एसिया र प्यासिफिक क्षेत्रका देशहरुका थप १० करोड जनताको पहुँचमा आधुनिक ऊर्जाको विस्तार गर्न सुरु गरेको अभियान हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us