काठमाण्डु, २२ फागुन – निजी शैक्षिक संस्थाका सञ्चालकहरुले पहिचानको खोजी आफूहरुको बाध्यता भएको बताएका छन् ।
राज्यमा शिक्षाको विकासका लागि महत्वपूर्ण योगदान गरेर पनि राज्य अनुदार बन्दा वर्तमान अवस्थासम्म पहिचानको खोजीमा भौँतारिनु निजी शिक्षा क्षेत्रका सञ्चालकहरुको बाध्यता भएको उनीहरुको भनाइ छ ।
आजदेखि सुरु हुने निजी तथा आवासीय विद्यालयहरुको सङ्गठन (प्याब्सन)को महाधिवेशनका लागि राजधानी आएका प्रतिनिधिहरुले राज्यको निजी शिक्षाप्रतिको विभेदलाई अन्त्य गरी उदार बन्नुपर्ने कुरालाई महाधिवेशनमा उठाउने तयारी गरेका छन् ।
निजी शिक्षा क्षेत्रले देशको समग्र शैक्षिक विकास तथा गुणस्तरीयता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेले पनि राज्यको अनुदार चिन्तन हट्न नसकेको प्याब्सनका केन्द्रीय सदस्यसमेत रहेका अमरज्योति इङ्लिस बोर्डिङ उच्च मावि कलङ्कीका सञ्चालक पुष्कल पन्तले बताए
।
देशभरका एक हजार ७ सय महाधिवेशन प्रतिनिधि महाधिवेशनका लागि राजधानी आइसकेका छन् । महाधिवेशनमा निजी शिक्षा क्षेत्रको पहिचानको विषय गम्भीरताका साथ उठ्ने प्याब्सनका महासचिव डिके ढुङ्गानाले बताए ।