
काठमाण्डु, ७ फागुन – नेपाल सरकारका मुख्य सचिव लीलामणि पौड्यालले सरकारी संस्थानहरु राजनीतिक दलको क्रिडास्थल बनेको बताएका छन् ।
राष्ट्रिय समाचार समिति (रासस)को ५३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै पौडेलले सो कुरा बताएका हुन् ।
व्यवस्थापन र कर्मचारीको संयुक्त प्रयासले मात्र सरकारी संस्थानहरु प्रभावकारी रुपमा अगाडि बढ्न सक्ने उनको भनाई छ । साथै पौड्यालले सामूहिक रुपमा काम गर्ने हो भने जस्तोसुकै संस्था पनि उन्नतिको शिखरमा पुग्ने बताए ।
अधिकार प्राप्तिका लागि कर्तव्य नभुल्न आग्रह गर्दै उनले कर्तव्य बिर्सने र अधिकार भुल्ने प्रवृत्तिले संस्थाको हित नगर्नेमा जोड दिए ।
आफ्नै पहलमा सार्वजनिक संस्थान निर्देशन बोर्ड गठन भएको पौड्यालको दावी छ ।
सो अवसरमा २० वर्षसम्म राससमा सेवा गर्ने कर्मचारीलाई सम्मान र उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई विभिन्न पुरस्कार प्रदान गरिएको थियो ।