
काठमाण्डु २१ माघ–ठूला दलका नेताहरुलाइ संविधान निर्माणको सट्टा सत्तालोलुप भएको आरोप लागिरहेका बेला काठमाण्डु क्षेत्र नम्बर ३ का सभासद रामेश्वर फुयाल भने आफूलाई जनतामाझ लैजाने कार्यमा व्यस्त छन ।
जनताका लागि संविधान निर्माण र विकासको काम पनि जनताकै सुझाव अनुसार गर्ने भन्दै फुयालले आफ्नो क्षेत्रका विभिन्न स्थानमा सुझाव पेटिका राखेका छन ।
संविधानसभा निर्वाचनमा काठमाण्ण्डु क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित एमाले सभासद रामेश्वर फुयाल संविधान निर्माणमा जनताको प्रत्यक्ष सहभागिताका लागि भन्दै सुझाव संकलन अभियानमा लागेका हुन ।
सुझाव संकलनका लागि फुयालले आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने सातवटा गाबिस र काठमाण्डु महानगरपालिकाको ६ नम्बर वडा कार्यालयसहितका विभिन्न स्थानमा सुझाव पेटिका राखेका छन ।
सामुदायिक विद्यालय र नेपाल मेडिकल कलेजसहित १९ स्थानमा सुझाव पेटिका राखिएको जानकारी दिंदै उनले यसले जनतालाइ सोझै संविधान निर्माणमा जोड्ने विश्वास ब्यक्त गरे ।
काठमाण्डु निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत कामपा वडा नम्बर ६ का साथै जोरपाटी, गोकर्ण, बालुवा , नयाँपाटी, सुन्दरीजल, गागलफेदी गाविसमा सुझाव पेटिका राखिएको छ ।