
काठमाण्डु, १७ माघ – अर्थमन्त्री शंकरप्रसाद कोइरालाले संविधानसभा सदस्यहरुले संविधान बनाउनेबाहेक आर्थिक, सामाजिक रुपान्तरणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
भोजपुरमा जन्मे हुर्केका तथा विभिन्न जिल्लालाई आफ्नो कार्य थलो बनाएका १८ जना सभासद्लाई सम्मान गर्दै मन्त्री कोइरालाले मुलुकको आर्थिक, सामाजिक मार्गचित्र बनाउने अभिभारा सभासद्को काँधमा आइलागेकाले आफूलाई त्यस दायित्वमा समर्पित हुन आग्रह गरे ।
जुनसुकै दलबाट प्रतिनिधित्व गरे पनि विकासका एजेन्डामा एक हुन सल्लाह दिँदै मन्त्री कोइरालाले सङ्क्रमणकालको व्यवस्थापनपछि अब आर्थिक विकासलाई राजनीतिको प्रमुख एजेन्डा बनाउनुपर्ने बताए ।
राजनीतिक, आर्थिक र शैक्षिक दृष्टिले समृद्ध भोजपुर जिल्लालाई समयसापेक्ष विकास गर्न जनप्रतिनिधिले बुँदागत घोषणापत्र तयार गर्नुपर्ने उनको सुझाव छ ।
कार्यक्रममा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकमा यतिबेला शान्ति, समृद्धि र स्थिरता आवश्यक भएकाले त्यसतर्पm समर्पित हुँदै सभासद्ले एक वर्षभित्र संविधान दिन सक्नुपर्ने बताए । कार्यक्रममा भोजपुर जन्मथलो भई काठमाण्डुमा विभिन्न क्षेत्रमा कार्यरत भोजपुरेहरुको सहभागिता थियो ।