
काठमाण्डु, २५ पुस – नेपाली काँग्रेसले संविधान निर्माणबारे सभासदहरुसँग परामर्श गरिरहेको छ । केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा संविधानसभामा खेल्नुपर्ने भुमिका र नयाँ संविधान जारी गर्ने काँग्रेसको कार्यतालिकाबारे सभासदहरुलाई शीर्ष नेताहरुले जानकारी गराइरहेका छन् ।
निर्वाचित भएपछि पहिलोपटक शीर्ष नेता र सभासदहरुबीच भएको यो छलफलबाट संविधान निर्माण सम्वन्धमा ठोस र संस्थागत धारणा बनाइने प्रवक्ता दिलेन्द्र प्रसाद बडुले जानकारी दिए । ‘पार्टीले संविधान निर्माणबारे सभासदहरुसँग परामर्श लिन्छ र त्यसैको आधारमा एकीकृत धारणा बनाउछ,’ प्रवक्ता बडुले भने ।
काँग्रेसले संविधान निर्माणको कार्ययोजना सहितको प्रस्ताव तयार पार्न नेता नरहरी आचार्यको संयोजकत्वमा समिति नै गठन गरेको छ । सोही समितिको आह्वानमा सभासदहरुसँग परामर्श गरिएको हो ।
काँग्रेसका प्रत्यक्षतर्फका १ सय ५ र समानुपातिक तर्फका ९१ सभासद छन् ।