
गौशाला, २४ पुस – जिल्लामा अवैध रुपमा सञ्चालित झोले विद्यालयका विषयमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली महोत्तरी पुगेको छ ।
टोलीमा प्रहरी अधिकारी, मन्त्रालयका सहसचिव र शाखा अधिकृत स्तरका कर्मचारी सहभागी रहेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाका अनुसार टोलीले जिल्लाबाट अख्तियारमा परेका एक सय ५० झोले विद्यालय सञ्चालनसम्बन्धी उजुरीलगायत अन्य सरकारी कार्यालय तथा संघ संस्थामाथि परेका विभिन्न उजुरीको स्थलगत अनुगमन गर्ने कार्यक्रम रहेको छ ।
महोत्तरीका विभिन्न सरकारी कार्यालयमा भएको अनियमितता, घुसखोरीजस्ता अनेकौँ विषयमा दर्जनौँ उजुरी अख्तियारमा परेको उनले बताए ।
टोलीले जिल्ला विकास समिति, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय, जलेश्वर नगरपालिकालगायतका कार्यालयमा अनुगमन गर्ने कार्यक्रम रहेको टोली प्रमुख सुदर्शन कोइरालाले जानकारी दिए ।