
काठमाण्डु, २४ पुस– संविधानसभा विघटनको माग राख्दै आएको नेकपा–माओवादीले जनजीबिकाको सवाललाई मुख्य मुद्दा बनाएर आन्दोलन गर्ने भएको छ । जनताको दैनिक जीबनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा केन्द्रित रहेर संघर्षमा जाने माओवादीको तयारी छ ।
यसअघिको केन्द्रीय समिति बैठकले संविधानसभा निर्वाचनपछि देश २०४७ कै स्थितिमा फर्किएको निष्कर्ष निकाल्दै हालसम्मका उपलब्धीको रक्षा गर्न संघर्षमा जाने निर्णय गरेको थियो ।
हाल संगठन सुदृढीकरणमा व्यस्त रहेको माओवादीले फागुनदेखि आन्दोलनका कार्यक्रम शुरु गर्ने बताइएको छ । ‘भ्रष्टाचार, महंगी लगायत जनतालाई प्रत्यक्ष असर परेको विषय नै हाम्रा प्रमुख मुद्दा हुन्,’ माओवादी नेता नारायण प्रसाद शर्माले भने । उनले सबैको मूल नीति राजनीति भएकाले पछिल्लो राजनीतिक अवस्थाको भण्डाफोर गर्ने पनि जानकारी दिए ।
माओवादीले संघर्षको स्वरुपबारे जनवर्गीय संगठनहरुसँग परामर्श जारी राखेको छ ।