
पर्सा, २३ पुस – पर्साको मधुवन मथवल गाविसमा जाडोले कठ्याङ्ग्रिएर मंगलबार एकजनाको ज्यान गएको छ ।
मधुवन मथवल गाविस–४ का सुखन माझीको अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।
सो गाविसअन्तर्गत पर्ने कोइलाभार साझेदारी वनबाट काठ दाउरा ल्याउन बन्द गरेपछि निम्नवर्गका जनता शीतलहरले प्रभावित भएका छन् ।
चिसोले कठ्याङ्ग्रिएर पर्सामा यस वर्षमात्रै दुईजनाको ज्यान गइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैबीच पर्साका सम्पूर्ण सामुदायिक विद्यालय मंगलबारदेखि १० दिनका लागि बन्द भएका छन् ।
शीतलहरसँगै बढेको अत्यधिक चिसोका कारण विद्यालय पनि प्रभावित भएकाले जिल्ला शिक्षा कार्यालयले सूचना जारी गरी पुस २३ देखि माघ २ गतेसम्म जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालयमा जाडो बिदा दिने जनाएको हो ।