
काठमाण्डु, २३ पुस – राष्ट्रपति डा. रामवरण यादवले एक वर्ष भित्रै संविधान जारी गर्ने भनेर जनतासामू व्यक्त प्रतिबद्धता पूरा गर्न दलहरूलाई आग्रह गरेका छन्।
मंगलबार शीतल निवासमा आयोजित चियापान कार्यक्रममा लिखित संवोधन गर्दै उनले एक वर्षभित्र संविधान निर्माण र ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गराउने प्रतिबद्धता पूरा गर्न दलहरुको ध्यानाकर्षण गराएका हुन् ।
‘सरकारले आफ्नो जिम्मेवारी पूरा गर्दै राजनीतिलाई मूल प्रवाहमा ल्याएको छ,’ उनले भने, ‘निर्धारित समयमा संविधान दिने जिम्मेवारी अब दलहरूको काँधमा आएको छ ।’
साथै राष्ट्रपति यादवले विषम र चुनौतिपूर्ण परिस्थितिमा पनि चुनाव सफल तुल्याउन योगदान गर्ने आम नेपाली मतदाता बधाईको पात्र भएको बताए ।
प्रधानन्यायाधीशको अध्यक्षतामा गठित मन्त्रिपरिषद्ले आफूलाई सुम्पिएको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको भन्दै उनले मन्त्रिपरिषद् अध्यक्ष, मन्त्रीहरु, निर्वाचन आयोग, नेपाली सेना र प्रहरीलगायत चुनाव सफल बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिए ।
संविधान सभामा प्रतिनिधित्व नभएका दल, समुदाय र वर्गको भावना समेत नयाँ बन्ने संविधानमा सुनिश्चित ढंगबाट समेट्नेतर्फ ध्यान दिन दलहरुलाई राष्ट्रपतिको आग्रह छ ।
पहिलो संविधानसभाबाट संविधान निर्माण हुन नसक्नु खेद्को विषय भएको भन्दै उनले त्यो सबै व्यर्थ भएको बताए ।
संविधानसभाको चुनाव सफलतापूर्वक सम्पन्न भएको खुसीयालीमा आयोजित चियापानमा उपराष्ट्रपति परमानन्द झा, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, संविधानसभामा प्रतिनिधित्व गर्ने ३० दलका शीर्ष नेताहरु, कुटनीतिक नियोगका प्रतिनिधि लगायतको सहभागिता थियो ।