
काठमाण्डु, २० पुस – उच्चस्तरीय राजनीतिक समितिको बैठक विना निष्कर्ष सकिएको छ ।
संविधानसभाको बैठक आह्वानमा देखिएको अन्यौलता हटाउन बसेको बैठक आह्वानका विषयमा सर्वोच्च अदालतमा मुद्दा परेकोले अदालतमा विचाराधीन मुद्दाको फैसला नहुँदै समितिले निर्णय गर्न उचित नहुने ठहर गर्दै कुनै निर्णय नगरी सकिएको हो ।
समितिले तत्काल संविधानसभाको बैठक बोलाउनुपर्नेमा भने जोड दिएको छ ।
निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक तर्फको चुनावी नतिजा सार्वजनिक गरिसकेकाले छिटोभन्दा छिटो बैठक बोलाउनुपर्नेमा जोड दिएको एमाले नेता रघु पन्तले जानकारी दिए ।
शान्तिकोषको सचिवालय बबरमहलमा बसेको बैठक पछि कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभाको वैठक छिटो बोलाउने विषयमा छलफल भएपनि कसले बोलाउने भन्नेबारे खासै छलफल नभएको जानकारी दिए ।
संविधानसभाको बैठक कसले बोलाउने भन्नेमा एक मत छैन । नेपालको अन्तरिम संविधान अनुसार सरकार प्रमुखले बैठक आह्वान गर्ने व्यवस्था छ । तर अन्तर्राष्ट्रिय प्रचलन भने राष्ट्रप्रमुखले बैठक आह्वान गर्ने रहेको छ ।