
सुर्खेत, १९ पुस – खुलादिसामुक्त क्षेत्र घोषणा गरिएका यहाँका विभिन्न गाविसमा सो घोषणा कार्यान्वयन नभएको पाइएको छ । खुलादिसामुक्त घोषणा गरिएका सुर्खेतको पश्चिमी भेगका विभिन्न गाविसको अनुगमन गर्दा खुलादिसामुक्त घोषणा कार्यान्वयन नभएको पाइएको हो ।
अनुगमन गरिएका पश्चिमका सालकोट, बाबियाचौर र विद्यापुर गाविसका विभिन्न स्थानमा खुला रुपमा दिसा गर्ने गरेको पाइएको जिल्लास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले जनाएको छ ।
सालकोट बाबियाचौर र विद्यापुरका सबै क्षेत्रमा गाविसस्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले खुला रुपमा दिसा गरेको पाइएपछि नियमित रुपमा शौचालयको प्रयोग गर्न आग्रह गरेको छ ।
केही स्थानमा अझै पनि खुलारुपमै दिसा गर्ने गरेको पाइएको अनुगमनमा सहभागी क्षेत्रीय खानेपानी तथा सुपरीवेक्षण कार्यालयका गोपाल उपाध्यायले जानकारी दिए ।
सुन्दर नेपाल संस्थाको पहलमा गरिएको अनुगमनमा उपाध्यायसहित जिल्ला विकास समितिका इन्जिनियर ओमदत्त रेग्मी, सुन्दर नेपाल संस्थाका शिवराज जोशी, बालमुकुन्द कुँवर, क्षेत्रीय खानेपानी तथा सुपरीवेक्षण कार्यालयका कमला खान, जिल्ला शिक्षा कार्यालयका सुन्दर थापा, जिल्ला खानेपानी उपभोक्ता महासंघ सुर्खेत शाखाका सचिव मानबहादुर खत्रीलगायतको सहभागिता रहेको थियो ।
यसैबीच जिल्लास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले खुलादिसामुक्त गर्न लागिएको तातापानी गाविसको पनि अनुगमन गरेको छ । जिल्लालाई सन् २०१५ सम्म खुलादिसामुक्त जिल्ला बनाउने अभियानअन्तर्गत तातापानी गाविसमा निर्माण भएका शौचालयहरुको स्थलगत अनुगमन गरिएको हो ।
अनुगमनमा तातापानीका एक हजार ३५ घरधुरीमध्ये ८० प्रतिशत घरमा पक्की शौचालय निर्माण भएको गाविस सचिव तिलकराम अधिकारीले जानकारी दिए । सुर्खेतमा अहिलेसम्म नगरपालिकाका केही वडासहित २७ वटा गाविसलाई खुलादिसामुक्त गाविस घोषणा गरिसकिएको छ ।
सबैभन्दा पहिले खुलादिसामुक्त घोषणा गरिएको पूर्वी सुर्खेतको दहचौर गाविसका केही वडामा समेत अहिलेसम्म पनि शौचालय नभएको पाइएको छ । रासस