काठमाडौं १४ पुस– अन्तर्राष्ट्रिय नेपाली एकता समाजले साउदी अरबमा अलपत्रमा परेका नेपालीहरुलाई कामदार तत्काल उद्दार गर्न नेपाल सरकार परराष्ट्र मन्त्रालयसँग माग गरेको छ ।
साउदी अरबको दमामलगायतका विभिन्न स्थानमा अवैध बनेर विभिन्न कारणले अलपत्र परेका करिब ७०–८० जना नेपाली कामदारहरुको उद्दार गर्न परराष्ट्र मन्त्रालयमा ज्ञापन पत्र बुझाएर उद्दार कार्यमा तत्काल लाग्न माग गरेको हो ।
समाजले आईतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर साउदी अरब सरकारले ७ महिनासम्मको आम माफीको अवसर दिएको भएपनि साउदी दुतावासले आवश्यक पहल नगरेको सबै नेपालीहरुको उद्दार हुन नसकेको भन्दै अहिले आम माफीको समयावधि सकिएकाले उनीहरुको जीवन मृत्युको मुखमा पुग्ने अवस्थामा पुगेकाले नेपाल सरकार परराष्ट्र मन्त्रालयले तत्काल उद्दारको पहल गर्नुपर्ने गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका संस्थापक अध्यक्ष गोविन्द सिंह थापाले पासपोर्ट भएकाहरुलाई साउदी सरकारले आम माफी दिएको र नेपाली हौं भन्ने कुनै आधार नभएकाहरु अलपत्र परेको भन्दै परराष्ट्र मन्त्रालयले प्रतिनिधि पठाई उनीहरुको उद्दार गर्न माग गरे ।
अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव राजेन्द्र श्रेष्ठले मेनपावरको गल्ती, आपतकालीन कागजात नहुनु पुनः श्रमस्वीकृति र विमानस्थलको लापरवाहीले साउदी अरबमा सैयौं नेपालीहरु अलपत्रमा परेको आरोप लगाए ।