अन्तरघातको अरोपमा अनुशासनको कारबाही

काठमाण्डु टुडे २०७० पुष १४ गते १३:१३ मा प्रकाशित

NC-Flagधादिङ, १४ पुस – गएको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोपमा नेपाली काँग्रेस धादिङले नेपाल दरुण दलका जिल्ला अध्यक्ष र दुई जना महासमिति सदस्यमाथि अनुशासनको कारबाही गरेको छ ।

नेपाली काँग्रेस धादिङका सभापति एवम् धादिङ क्षेत्र नं २ का प्रत्यक्षतर्फका उम्मेदवार रामनाथ अधिकारीलाई संविधानसभा निर्वाचनमा हराउने काममा संलग्न रहेको भन्दै महासमिति सदस्यद्वय भीमप्रसाद ढुंगाना तथा डा. राजाराम कार्की र तरुण दलका जिल्ला अध्यक्ष गोपाल विश्वकर्मामाथि कारबाही गर्ने निर्णय गरेको हो ।

कारबाहीमा परेका तीनै जनालाई छ महिनाका लागि काँग्रेसको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरी पार्टीको कुनै कार्यमा संलग्न नहुन निर्देशन दिइएको छ ।
क्षेत्रीय समितिको यो निर्णयको स्वीकृतिका लागि जिल्ला कार्यसमिति र केन्द्रीय कार्यसमितिसमक्ष सिफारिस पठाइएको २ नं क्षेत्रीय सभापति विनोद तिमिल्सिनाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us