म्याग्दीका विभिन्न गाविसमा सीमा विवाद

काठमाण्डु टुडे २०७० पुष १४ गते ६:५० मा प्रकाशित

म्याग्दी, १४ पुस – जिल्लाका विभिन्न गाविसमा सीमा विवादका कारण सामाजिक द्वन्द्व बढ्दै गएको छ । वैज्ञानिक तरिकाले प्राकृतिक स्रोत र साधनको बाँडफाँट हुन नसक्दा एक दर्जन गाविसमा सीमा विवाद देखिएको हो ।

बीस वर्षदेखिको विवाद साम्य नहुँदा स्थानीयवासीबीच पटकपटक झडप भई सामाजिक सद्भावसमेत खल्बलिँदै गएको छ । जिल्ला वन कार्यालयका अनुसार एक दर्जन गाविसमा सीमा विवाद छ ।

जिल्लाको दरबाङ, पाखपानी, विम, बेगखोला, दोबा, पुलाचौर  कुहुँ, ताकम र देविस्थान गाविमा सामुदायिक वनको सिमाना विवाद छ भने मुना र बाबियाचौर गाविसमा उपभोक्ता समितिमा पदाधिकारीबीच विवाद देखिएको जिल्ला वन कार्यालयका रेञ्जर चन्द्रमणि सापकोटाले बताए ।

उच्च भू–भागमा अवस्थित धार्मिक पर्यटकीय सम्भावना बोकेको मालिका धुरीलाई दरबाङ, पाखापानी र विम गाविसले आफ्नो दाबी गरेपछि अहिले उक्त क्षेत्रमा प्रहरीको उपस्थितिमा मात्रै पूजापाठ गर्ने व्यवस्था गरिएको छ ।

सामुदायिक वनमा पाइने विभिन्न प्रकारका जडीबुटी, घाँस दाउरा र चरण क्षेत्र नै विवादको मुख्य कारण हो । ‘दोबा र बेगखोला, पुलाचौर र कुहुँ, ताकम र देविस्थान, कुइनेमंगले र चिमखोला गाविसबीच अहिले सीमा विवाद छ, यस्ता विवाद धेरै वर्षदेखिका हुन्, उनले भने । उत्तरी दाना गाविसको सिमानामा पाइने यार्सागुम्बा मुस्ताङका स्थानीयले सङ्कलन गरेको भन्दै दानावासीले पटकपटक सीमा क्षेत्रमा सुरक्षाको व्यवस्था गर्न प्रशासनलाई आग्रह गर्दै आएको छ ।

बहुमूल्य यार्सागुम्बा पाइने उपल्लो भेगका गाविस मल्कबाङ, मुदी, चिमखोला, गुर्जालगायतका क्षेत्रमा बर्सेनि सीमा विवाद हुने गरेको छ । पछिल्लो समय राखुभगवति र बेगखोला, भकिम्ली र बरंजा गाविसको वर्षांैदेखिको सीमा विवाद भने समाधान भएको जिल्ला वन कार्यालयले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us