
भद्रपुर, १४ पुस–झापाको सतासीधाम–७ स्थित दुधेबजारस्थित एक घरमा आगलागी हुँदा एकै परिवारका तीनजनाको जलेर मृत्यु भएको छ । गणेश बजगार्इंको दुईतले काठको घरमा आगो लाग्दा ३६ वर्षीया मनिका भट्टराई, उनका छोराहरु १२ वर्षीय नितेष र सात वर्षीय निसानको घटनास्थलमै मृत्यु भएको हो ।
मोरङको दर्बेशा घर भएका उनीहरु केही वर्षदेखि त्यहाँ डेरा गरी बस्दै आएका थिए । मृतकक मनिकाको श्रीमान् भने वैदेशिक रोजगारका लागि खाडी मुलुक कतारमा छन् ।
मृतक तीनैजनाको शव आगोले डढेर क्षतविक्षत भएको थियो । बिजुली गएको बेला मैनबत्ति बालेर सुत्दा आगो लागेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । स्थानीय जनता, मेचीनगरको दमकल र प्रहरीको सहयोगमा डेढ घण्टाको प्रयासपछि राति साढे ११ बजे आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
आगलागीबाट २५ लाख मूल्य बराबरको सम्पत्ति पनि जलेर नष्ट भएको छ ।