
काठमाण्डु, १४ पुस– नेपाली कांग्रेसले आइतबारसम्ममा पार्टीको तर्फबाट समानुपातिकतर्फका सभासदको टुंगो लगाउने भएको छ ।
कांग्रेसले सभासद टुंगो लगाउन ४ वटा मापदण्ड बनाएर छलफल गरिरहेको जनाएको छ ।
कांग्रेसले सभासद छान्न उनीहरुले पार्टीमा दिएको योगदानलाई मूल्यांकनको पहिलो आधार बनाएको उपसभापति रामचन्द्र पौडेलले बताए । यस्तै संगठन निर्माण गर्न सक्ने, क्षेत्रगत प्रतिनिधित्व तथा संसदमा पार्टीकोतर्फबाट प्रतिनिधित्व गर्न सक्ने नेतालाई समानुपातिकतर्फबाट सभासद बनाउने पौडेलले बताए ।
यसैबीच कांग्रेसले समानुपातिक सभासद छान्दा सभापति सुशील कोइरालाले नेतृत्व गरेको संस्थापन पक्षलाई ६० प्रतिशत र वरिष्ठ नेता देउवा पक्षलाई ४० प्रतिशत हुने गरी भागबण्डा गरेको छ ।
कांग्रेस नेताहरुका अनुसार संस्थापन पक्षभित्र उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला तथा नेताहरु रामशरण महत र अर्जुननरसिंह केसीले आआफ्नो भाग खोजेपछि विवाद भएको छ ।
यस्तै पार्टीलाई चुनावमा सहयोग गरेका मध्य कति व्यापारीलाई सभासद बनाउने भन्ने विवाद बढेको छ ।