न्यूज २४ टेलिभिजन केबुलमा सिमित

काठमाण्डु टुडे २०७० पुष १२ गते १२:३२ मा प्रकाशित

News 24 TVकाठमाण्डु, १२ पुस–काठमाण्डुको लाजिम्पाटस्थित न्यूज ट्वान्टी फोर टेलिभिजन ‘सुविसु केबुल’बाट मात्रै प्रसारण भएको छ ।

स्याटलाइट प्रयोग गरे वाफत पैसा बुझाउन नसकेपछि बन्द भएको टिभि अब भने काठमाण्डु उपत्यकाको सिमित ठाउँमा हेर्न सकिन्छ ।

यसअघि न्यूज ट्वान्टी फोर टेलिभिजनले नै सन्चालन गर्दै आएको मनोरन्जनात्मक टेलिभिजन ‘ई–ट्वान्टी फोर’ पनि आर्थिक संकटको कारण बन्द भएको थियो ।

न्यूज ट्वान्टी फोर टेलिभिजनले स्याटलाइट प्रयोग गरेवाफत थाईकमलाई झण्डै १ करोड रुपैयाँ बुझाउन बाँकी छ । यसअघि पैसा बुझाउन ताकेता गरेपछि व्यवस्थापन पक्षले १० लाख रुपैयाँ बुझाएको थियो । थप रकम बुझाउन नसकेपछि कम्पनिले प्रसारण नै रोकिदिएको हो । थाइकमले प्रसारण रोकेपछि यो टिभि अब सुविसुको च्यानल प्रयोग गर्नेले मात्रै हेर्न सक्छन् ।

यसअघि नेश्नल टेलिभिजन पनि स्याइटलाइट प्रयोग गरेवाफतको पैसा बुझाउन नसकेपछि बन्द भएको थियो ।

कर्मचारी अलपत्र

नेपाल ब्रोडकास्टिङ च्यानल अन्तरगत रहेको न्यूज ट्वान्टीफोर टेलिभिजनमा झण्डै एक सय कर्मचारी कार्यरत छन् । सबैजसो जिल्लामा सम्वाददाता पनि छन् । उनीहरुले पाँच–सात महिनादेखि तलब पाएका छैनन् । अहिले टेलिभिजन नै बन्द भएपछि कर्मचारी र पत्रकारहरु अलपत्र परेका छन् । यद्यपी उनीहरु कार्यालय भने गैरहेका छन् । कतिपयले काम गरेवाफतको पैसा नपाएपछि छाडिसकेका पनि छन् ।

के गर्दै छ व्यवस्थापन पक्ष ?

तलब नपाएपछि पत्रकार तथा कर्मचारीहरुले बेलाबेला आन्दोलन पनि गर्दै आएका थिए । पत्रकारहरुले काम ठप्प पारेपछि अरु टेलिभिजनहरुबाट दृष्यहरु मागेर काम चलाउनु परेको थियो ।

अहिले आर्थिक संकटले प्रसारण नै बन्द भएपछि व्यवस्थापन पक्ष समस्यामा परेको छ । थाइल्याण्डमा मुख्य कार्यालय रहेको स्याटलाइट कम्पनिमा पैसा बुझाउन नसकेपछि व्यवस्थापन पक्ष अर्को कम्पनिको खोजीमा लागेको छ । थाइकमको सट्टा अर्कै कम्पनिबाट स्याटलाइटको अनुमति लिएर फेरि टेलिभिजन सन्चालन गर्ने तयारी भैरहेको स्रोतले जनाएको छ ।

को हो संचालक ?

न्यूज ट्वान्टी फोर टेलिभिजनको सन्चालक अनिल जोशी हुन् । उनी पेशाले म्यानपावर व्यवसायी हुन् । ठमेलमा उनको व्यवसाय छ । ऋण थपिदै गएपछि ६ महिना अघि एक बैंकले ठमेलस्थित उनको आफ्नै घर, जग्गा र टेलिभिजन रहेको लाजिम्पाटस्थित घर लिलामको सूचना निकालेको थियो । उनले चढ्दै आएको ल्याण्ड रोभर गाडिको पैसा पनि ३५ दिनभित्र बुझाउन बैंकले ताकेता गरेको थियो ।

उनी पूर्वराजपरिवारका सदस्य निकट छन् । पूर्वयुवराज पारसकी भान्जी सदस्य रहेको संकट मोचन नामक एक सामाजिक संस्थाको कुनैबेला उनी उपाध्यक्ष समेत बनेका थिए ।

अधिकांश टेलिभिजन आर्थिक संकटमा

झण्डै ३ दर्जनको संख्यामा नेपाली टेलिभिजनहरुले सञ्चालनको अनुमति पाए पनि डेढ दर्जनजति टेलिभिजन मात्रै प्रसारणमा छन् । सबैजसो टेलिभिजनमा आर्थिक संकट चुलिएको छ । विज्ञापन बजार सानो हुनु र लगानीकर्ताको वैकल्पिक पेशा हुनुले टेलिभिजनहरु संकटमा छन् । विज्ञापन राम्रै बजाइरहने अधिकांश टेलिभिजनहरुले समेत नियमित तलब खुवाउन सकेका छैनन् ।

काठमाण्डुमा कान्तिपुर, ईमेज, एभिन्युज, एबीसी, सगरमाथा, माउन्टेन, हिमालय, नेपाल वान र तराई टेलिभिजन प्रसारणमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us