
काठमाण्डु, १२ पुस–एकीकृत नेकपा माओवादीले समानुपातिक सभासद् केन्द्रीय समितिबाट टुङ्गो लगाउने भएको छ ।
पार्टी कार्यालय कोटेश्वरमा दुई दिनसम्म बसेको पूर्वपोलिटब्यूरो समितिको बैठकले सभासद् चयन केन्द्रीय समिति बैठकबाट टुंगो लगाउने निर्णय गरेको हो ।
शुक्रबारको बैठकपछि प्रवक्ता अग्नी सापकोटाले आउँदो आइतबार दिउँसो एक बजे केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिए । ‘मापदण्डका आधारमा केन्द्रीय समिति बैठकले सभासदको टुंगो लगाउँछ,’ उनले भने ।
प्रवक्ता सापकोटाका अनुसार सकभर पार्टीले नयाँ अनुहारलाई सभासद बनाउने छ । एकीकृत नेकपा माओवादीले समानुपातिकतर्फ ५४ सिट पाएको छ ।
सभासद छान्दा जनयुद्धमा योगदान गरेका घाइते, अपाङ्ग र सहिद तथा वेपत्ता परिवारको सम्मानजनक प्रतिनिधित्व गराउने उनको भनाइ छ । एमाओवादीलाई प्रत्यक्ष तर्फ चुनाव नजितेको हरेक जिल्लाबाट एकजनाको प्रतिनिधित्व गराउने पर्ने दवाव पनि छ । ‘सभासद छान्दा जनयुद्धमा योगदान गरेका र पार्टीको कार्यसूची प्रस्टसँग राख्न सक्नेहरुलाई पहिलो प्राथमिकता दिइन्छ,’ सापकोटाले भने ।
पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा विहीबार बसेको बैठकमा धारणा राखेका एक दर्जन नेताहरुले मापदण्ड बनाएर योग्य उम्मेदवार छान्न नेतृत्वलाई सुझाव दिएका थिए ।
पार्टी हार्नुमा आन्तरिक कारण पनि जिम्मेवार
त्यस्तै गत मंसिर ४ गते सम्पन्न संविधानसभा निर्वाचनमा पार्टी पराजित हुनाको बाह्य कारण प्रमुख भए पनि आन्तरिक कारणलाई पनि नकार्न नहुने भन्दै नेताहरुले कामकाजविहीन र भद्दा पार्टी संगठनलाई चुस्तदुरुस्त बनाउन ध्यानाकर्षण गराएका थिए । जनतासँगको सम्बन्धलाई जीवित राख्नुपर्ने, जनताका कार्यसूचीलाई कुनै पनि हालतमा छाड्न नहुने र संगठन निर्माणमा विशेष ध्यान दिनुपर्ने अधिकांश नेताहरुको धारणा थियो ।
विहीबारको बैठकमा नेताहरु अमिक शेरचन, लीलामणि पोखरेल, विश्वभक्त दुलाल, नवराज सुवेदी, गोपाल किराँती, नन्दकिशोर पुन, विश्वनाथ साह, शशी शेरचन, लीलबहादुर थापालगायतले धारणा राखेका थिए ।