
मोरङ, ११ पुस – मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका सबै क्रसर उद्योगलाई मोरङ प्रशासनले तत्काललाई बन्द गराएको छ ।
बुधबार मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की, स्थानीय विकास अधिकारी शिवराम पोख्रेल, जिल्ला वन अधिकृत श्रीप्रसाद बराल र प्रहरी उपरीक्षक विश्वराज पोखरेलको संयुक्त अनुगमन टोलीले जिल्लामा सञ्चालन हुँदै आएका सातवटा क्रसर उद्योगलाई तत्काल अनुसन्धान गर्नुपर्ने भन्दै बन्द गर्न आदेश दिएको हो ।
अनुगमनका क्रममा ती उद्योगले आधारभूत मापदण्ड पूरा नगरेको नपाइएको र केहीले दर्ता अनुमति नै नलिइकन सञ्चालन गरेको पाइएकाले अनुसन्धान पूरा नभएसम्म बन्द गर्न आदेश दिएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए ।
बन्द गर्न आदेश दिइएका उद्योगको सुक्ष्म अनुसन्धान गरी गल्तीअनुसारको कारबाही गरेर मात्र सञ्चालन गर्न दिइने उनले जानकारी दिए । मोरङमा १३ वटा क्रसर उद्योग दर्ता छन् । जसमध्ये सात वटा मात्र सञ्चालनमा छन् । रासस