
काठमाडौ, १० पुस– एकीकृत माओवादीका नेता वर्षमान पुनले कांग्रेसको नेतृत्वमा बन्ने सरकारलाई विनासर्त समर्थन गर्ने बताएका छन् ।
काठमाण्डुमा भएको कार्यक्रममा पुनले आफ्नो पार्टी सरकारमा नजाने र सरकार परिवर्तनको खेलमा पनि नलाग्ने स्पष्ट पारे ।
‘अहिले अवस्थामा सरकार भन्दा पनि संविधान महत्वपूर्ण हो,’ पुनले भने, ‘हामी सरकारलाई प्राथमिकता नदिइ एक वर्षभित्र संविधान निर्माणको काममा लाग्नेछौं ।’ उनले अहिलेको अवस्थामा राष्ट्रपति परिवर्तनको विषय उचाल्नु आवश्यक नभएको पनि बताए । उनले आफ्नो पार्टी समानुपातिक उम्मेदवारको नाम छनोटमा लागेको भन्दै पार्टीभित्र यसमा कुनै विवाद नभएको पनि बताए ।
कार्यक्रममा कांग्रेसका नेता अर्जुन नरसिंह केसीले राष्ट्रपतिलाई राजनीतिक भागबण्डाको विषय भन्दा पनि सबै नेपालीको साझा राजनीतिक संस्था बनाउनुपर्ने बताए ।
उनले मुद्दा र जनमतको हिसाबमा कांग्रेस र एमालेबीचको सहकार्य आवश्यक रहेको भन्दै एमालेसँगको सहकार्यमा सरकार र संविधान निर्माण गर्ने विषयमा कांग्रेस नचुक्ने स्पष्ट पारे । उनले कांग्रेसको संसदीय दलको नेता नै प्रधानमन्त्री हुने स्पष्ट भन्दै पार्टीले एकमतले संसदीय दलको नेता चयन गर्ने बताए ।
यस्तै नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञावलीले संविधान जारी गरेपछि संविधानसभा पनि विघठन हुने भएकोले त्यस अवस्थामा नयाँ राष्ट्रपति छान्ने निकाय नहुने भएकोले आफूहरुले नयाँ जनादेश अनुसार अनुमोदित हुनु पर्ने प्रस्ताव गरेको दावी गरे ।
उनले अहिलेका राष्ट्रपतिको भूमिका सकारात्मक रहेपनि जनमतको कदर गर्नुपर्नेमा जोड दिए । कांग्रेसले एमालेलाई एक्ल्याउन खोजेको उनको आरोप थियो । ज्ञवालीले एमाओवादीको हठको कारण मुलुकले महत्वपूर्ण केही साताहरु गुमाएको आरोप लगाउँदै अब दलहरुको ध्यान संविधान निर्माणमा केन्द्रीत हुनु पर्नेमा जोड दिए ।