एनआरएनले माग्यो कर छूट

काठमाण्डु टुडे २०७० पुष ७ गते १२:२२ मा प्रकाशित

IMG_5218काठमाण्डु, पुस ७ – गैरआवासीय नेपाली संघ (एनआरएन) ले अन्य सामाजिक संस्थासरह आयकर छूट दर्ताको माग गरेको छ । अर्थमन्त्री शंकरप्रसाद कोइरालासंग अर्थ मन्त्रालयमा भेट गरी एनआरएन अध्यक्ष शेष घलेले संस्थालाई सामाजिक काममा प्रोत्साहित गर्न यसप्रकारको निर्णय आवश्यक भएको बताए ।

गैरआवासीय नेपाली लगानीकर्ताहरुलाई दोहोरो कर प्रणालीबाट मुक्त दिन एकोहोरो कर प्रणालीका लागि सम्बन्धित देशहरुसंग  पहल गर्न आग्रह गर्दै अध्यक्ष घलेले नेपालमा आधिकारिक च्यानलबाट लगानी र विप्रेषण भित्र्याउनेलाई सम्मान गर्नेको सूचीमा आफूहरुरुलाई पनि समावेश गरिनुपर्ने बताए ।

‘विश्वका विभिन्न मुलुकहरुमा जस्तै नेपालमा पनि विशेष आर्थिक क्षेत्रको अवधारणा लागू गर्दा वैदेशिक लगानी भित्र्याउन थप आकर्षक हुने हुनाले यस कार्यमा सरकारले ध्यान दिन आवश्यक छ ।’ एनआरएनले सरकारलाई बुझाएको पत्रमा भनिएको छ, ‘यसरी स्थापना हुने विशेष क्षेत्र अन्तर्गत लगानीलाई प्रोत्साहित गर्ने नीति नियमको तर्जुमा गर्न आग्रह छ ।’

सो अवसरमा संघले खाडी तथा मलेशियामा मृत्यु हुने, अंगभंग हुने तथा अलपत्र पर्ने नेपाली श्रमिकका लागि राहत कोषको स्थापना गरिएको र कोषमा १ करोड जम्मा भइसकेको जानकारी गराएको छ ।

मन्त्री कोइरालाले गैर आवासीय नेपालीहरुको लगानीलाई प्रोत्साहित गर्न सरकारले विधिवत रुपमा दर्ता गरेको स्मरण गर्दै लगानीको दायरालाई विस्तार गर्न आग्रह गरे ।

उनले पूर्वाधार विकास, उर्जा क्षेत्रमा लगानी गर्न आग्रह गर्दै लगानीमैत्री वातावरण दिन सरकार तयार रहेको बताए । आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन देशमा औद्योगिक र आर्थिक क्रान्ति जरुरी भएकाले निर्वाचित सरकारले पनि त्यसलाई आत्मसात् गर्ने भएकाले ग्रामीण क्षेत्रमा पनि लगानी विस्तार आवश्यक भएको बताए ।

उक्त अवसरमा एनआरएनलाई दिनुपर्ने सुविधाका लागि सरकार प्रतिवद्ध रहेको बताउँदै मागका विषयमा छलफल गर्न तयार रहेको बचन दिए । भेटमा एनआरएनका पूर्व अध्यक्ष जीवा लामिछाने, सोनाम लामाको उपस्थिति थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us