
काठमाण्डु, ६ पुस–हवाई मार्गबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ । गत नोभेम्बरमा हवाई मार्गबाट नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा ७.०१ प्रतिशतले कमी आएको हो ।
गत साल हवाई मार्गबाट नोभेम्बर महिनामा नेपाल आउने पर्यटकको सङ्ख्या ५९ हजार ४११ रहेको थियो भने यस वर्षको नोभेम्बर महिनामा ५५ हजार २४५ पर्यटक मात्रै हवाई मार्गबाट नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
सन् २००९ देखि पर्यटक आगमनमा निरन्तर वृद्धि भएपनि सन् २०१३ को नोभेम्बर महिनामा भने गिरावट आएको हो ।
संविधानसभा निर्वाचनलगायतका कारण पनि पर्यटक आगमन घटेको हुन सक्ने बोर्डको दाबी रहेको छ । पर्यटकको आवागमन घट्नुको पछाडि विश्वव्यापी आर्थिक मन्दी, पर्यटकहरुको चाहनालगायतले पनि काम गरेको हुन सक्ने देखिएको छ ।
हवाई मार्गबाट नेपाल आउने पर्यटकमा पहिलो स्थानमा यूरोपेली मुलुक रहेको छ भने त्यसपछि उत्तर अमेरिकाका नागरिक रहेका छन् ।
एसिया प्रशान्त क्षेत्र र दक्षिण पूर्वी एसियाली मुलुकका नागरिकको आगमन पनि अघिल्लो सालको तुलनामा घटेको बोर्डले जनाएको छ । रासस