माओवादी मिलाउन माओका चेलाको कसरत

काठमाण्डु टुडे २०७० पुष ४ गते ४:१२ मा प्रकाशित

Prachanda-I-Ping-&-Mohan-baidhya

काठमाण्डु–चिनिया कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय मामिला सम्बन्धी उपमन्त्री आइ फिङले एकीकृत माओवादी र नेकपा–माओवादीका नेताहरुसँग पुस ३ गते दुई–दुई घण्टा छुट्टा छुट्टै भेटेर एउटै सुझाव दिएका छन्–‘हाम्रो सदभाव लिन चाहनुहुन्छ भने तपाईहरु मिलेर अघि बढनुस् । मित्र राष्ट्रको स्थायित्व र बिकास हाम्रो प्राथमिकतामा छ । हामी शान्त र समुन्नत नेपाल हेर्न आतुर छौ ।’

एकीकृत माओवादीसँग लाजिम्पाटमा भएको भेटमा अध्यक्ष प्रचण्ड र नेता कृष्णबहादुर महरा थिए भने नेकपा–माओवादीसँग डिल्लीबजारस्थित भोजन गृहमा भएको भेटमा अध्यक्ष मोहन बैद्य, उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा, सचिवद्धय देव गुरुङ र नेत्रबिक्रम चन्द, अन्तराष्ट्रिय व्यूरोका सदस्यहरु धर्मेन्द्र बास्तोला, इन्द्र मोहन सिग्देल र मनोज थापा सहभागी थिए । आइ फिङका साथमा भने नेपालका लागि चिनिया राजदुत ऊ छुन्थाईसहित भ्रमण टोलीका ६ जना  सहभागी थिए । लाजिम्पाटको भेट बिहान ८.४५ देखि १०.४५ बजेसम्म भएको थियो भने डिल्लीबजारको भेट दिउसो ३.३० देखि ५.३० बजेसम्म भएको थियो ।

करीव दुई बर्ष अघि एकीकृत माओवादीमा आएको बिभाजनपछि चिन्ता व्यक्त गर्दै आएको चिनिया कम्युनिष्ट पार्टीले यसअघि पनि काठमाण्डु र बेइजिङ दुवैतिर दुवै माओवादीका नेतासँगको छलफलमा पटक पटक मिलेर अघि बढन सुझाव दिदै आएको थियो । राजतन्त्रको अवशानपछि नेपालमा भरपर्दो मित्र शक्ति खोज्दै आएको चीनले माओवादी त्यस्तो मित्रशक्ति हुन सक्ने आँकलन गरेर मिलेर अघि बढन सुझाव दिदै आएको हो । बिपी कोइराला र राजा महेन्द्रसँग चिनिया कम्युनिष्ट पार्टीका नेता माओत्सेतुङको घनिष्टता थियो । कोइराला र महेन्द्रको अवशानपछि चीनले आफनो घनिष्ट मित्र माओवादीका नेताहरुमा खोज्दै आएको छ ।

चिनिया कम्युनिष्ट पार्टीको महाधिवेशनले सी चिनफिङलाई महासचिव र राष्ट्रपति बनाएपछि बेइजिङको ग्रेटहलमा पहिलो वार्ता गर्ने दक्षिण एशियाली नेता एकीकृत माओवादीका अध्यक्ष प्रचण्डलाई बनाइएको थियो । दक्षिण एशियामा नेपाल र नेपालमा पनि प्रचण्डलाई दिइएको महत्व त्यसले झल्काउँथ्यो । संबिधानसभा निर्वाचनमा एकीकृत माओवादी पहिलो पार्टी हुने बिश्वास बोकेको चीनका लागि त्यो पार्टीको पराजय स्वभाविक लागेको छैन । एकीकृत माओवादीको पराजय र नेकपा–माओवादीको निर्वाचन बहिस्कार दुवै चिनिया कम्युनिष्ट पार्टीको चाहना विपरित हुन् ।

नेपाल आउनासाथ सबै भन्दा पनि आई फिङले माओवादीका नेताहरुसँग लामो छलफल गर्नुका पछाडिको प्रमुख कारण नै दुवै माओवादीले लिएका नीति प्रति उसको असहमति प्रकट पनि हो ।

एकीकृत माओवादी संबिधानसभामा सहभागी हुनका लागि शर्त अगाडि सारिरहेको र नेकपा–माओवादी संबिधानसभाबाट संबिधान निर्माण संभव नभएको तर्कसहित संबिधानसभा बाहिर रहने निष्कर्ष निकालेको वेला आई फिङले काठमाण्डु आएर परिपक्व कम्युनिष्ट पार्टीको भूमिका निर्वाह गर्न दुवै पार्टीका नेतालाई सुझाव दिएका हुन् । उच्च स्रोतका अनुसार आइ फिङ अहिले नै नेपाल भ्रमणमा आउनुमा संबिधानसभा निर्वाचनपछिको अवस्था बुझ्नु, नेपालमा भारतीय राजनीतिक हस्तक्षेप बढ्नबाट रोक्नु र दुई माओवादीलाई एक भएर अगाडि बढन दबाब दिनु हो । नेपालमा भारतले हस्तक्षेप बढाएको चीनलाई पटक्कै मन परेको छैन । चीनले अव प्रत्येक महिना उच्चस्तरिय टोली नेपाल पठाएर ‘नेपाल मामिलामा तिमी मात्रै छैनौ हामी पनि छौ’ भन्ने सन्देश भारतलाई दिन खोजेको छ ।

चिनिया कम्युनिष्ट पार्टीका नेता माओत्सेतुङले चिनिया क्रान्तिमा अवलम्बन गरेको छापामार युद्ध कलाबाट अगाडि बढेका नेपालका कम्युनिष्टले आफनो पार्टीको नाम नै माओकै नामबाट राखेका छन् । त्यसैले पनि नेपालका माओवादी प्रति चिनिया कम्युनिष्ट पार्टीको चासो बढी छ । माओले अवलम्बन गरेको भन्दा फरक ढंगले चिनिया कम्युनिष्ट पार्टी अगाडि बढेको भए पनि माओलाई चीनमा आदर्श पुरुषका रुपमा अहिले पनि ग्रहण गरिन्छ ।

एकीकृत माओवादी र नेकपा–माओवादीले सहकार्य गरेर अगाडि बढ्न सक्ने अवस्था अझै कायम छ । एकीकृत माओवादी संबिधानसभामा सहभागी भएर जनपक्षीय संबिधान निर्माणका लागि वकालत गर्न सक्छ र नेकपा–माओवादीले सडकबाट जनपक्षीय संबिधानका पक्षमा खवरदारी गर्न सक्छ । काँग्रेस सभापति सुशील कोइरालासँग एकीकृत माओवादीका अध्यक्ष प्रचण्डको छलफलमा संबिधानसभा गठनपछि संबिधान निर्माणका बिषयमा सहमति जुटाउन उच्चस्तरिय राजनीतिक संयन्त्र गठन गर्ने, त्यो संयन्त्रमा नेकपा–माओवादीसहित संबिधानसभा बाहिर रहेका राजनीतिक दल सहभागी हुने र त्यो संयन्त्रमा भएको सहमतिका आधारमा संबिधानसभाबाट संबिधान जारी गराउने बिषय सहमतिको नजिक पुगेको छ । यहि दिशामा अगाडि बढेमा दुई माओवादी वीच सहकार्य हुन सक्छ, त्यो सहकार्यले पार्टी एकतासम्म पुर्‍याउन सक्छ । अझै पनि दुई माओवादी बीच एक अर्का प्रति नकारात्मक बन्दै जाने हो भने उदियमान दुवै शक्तिको भविश्य अन्धकार हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us