
काठमाण्डु, २४ मंसिर–काठमाण्डुमा जारी एनसेल कप फुटबल प्रतियोगिताअन्तर्गत सोमबारबाट क्वाटर फाइनलका खेल सुरु हुदैछन् ।
क्वाटरफाइनलको पहिलो खेलमा विभागीय टोली आर्मी र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको खेल दिउँसो २ बजेपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ ।
आर्मी समूह ‘ए’ को विजेता हो भने हिमालयन शेर्पाका ‘बी’ को उपविजेता हो । आर्मीले लिग चरणमा दुवै खेलमा जित हात पारेको थियो भने फ्रेण्ड्सलाई हराएको शेर्पा मच्छिन्द्र क्लबसँग पराजित भएको थियो । दुवै टोलीले प्रतियोगिताको शीर्ष आठमा आफ्नो स्थान पक्का गरिसकेका छन् ।
ए डिभिजनका १२ टिमले सहभागिता जनाएको प्रतियोगिताका विजेताले १५ लाख र उपविजेताले ७ लाख नगद पाउनेछन् ।