
काठमाण्डु,२२ मङ्सिर–एकीकृत नेकपा (माओवादी)लगायतका विभिन्न १६ राजनीतिक दलले संविधानसभा निर्वाचनमा भएको धाँधलीको छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र छानबिन आयोग गठन गर्नुपर्ने माग पुनः दोहोयाएको छ ।
एकीकृत नेकपा (माओवादी)लगायतका विभिन्न १६ राजनीतिक दलका तर्फबाट गठन गरिएको कार्यदलको शुक्रवार बसेको बैठकले संविधानसभा निर्वाचनको विश्वसनीयतामाथि उठेको प्रश्नलाई समाधान नगरी कुनै पनि प्रक्रिया अगाडि बढ्न नसक्ने ठहर गर्दै सो विषयमा छानबिन गरेर अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको संघीय समाजवादी पार्टीका महासचिव एवम् कार्यदलका सदस्य राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
कार्यदलको बैठकले सबै राजनीतिक दलको भावना समेट् अन्तरिम संविधानमा रहेको बहुमतीय प्रणालीको सट्टा सहमतीय प्रणाली राख्नुपर्ने निष्कर्ष निकालेको छ ।
‘कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत नभएको, संविधानसभा निर्वाचनको पछल्लो परिणामका आधारमा पनि दुई÷तीन वटा दल मिल्दासमेत दुईतिहाई नपुग्ने स्थिति देखिएका कारण पनि सबै दलको सहमतिमा मात्र संविधान निर्माण गर्नुपर्ने भएकाले सो व्यवस्था हुनपर्ने विषय उठाइएको हो’ महासचिव श्रेष्ठले भने ।
यसैगरी बैठकले १२ बुदे राजनीतिक सहमति, अन्तरिम संविधान र वृहद शान्ति सम्झौताको मर्म र भावनाअनुसार सबै राजनीतिक दलहरू चल्नुपर्ने, पहिचानसहितको संघीयतालाई संस्थागत गर्नुपर्ने र सो विषयलाई दलहरूले आत्मसाथ गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
कार्यदलले तयार पारेको एजेण्डालाई शनिवार बस्ने १६ दलको बैठकमा पेस गरिने र सो बैठकले संघीय लोकतान्त्रिक गठबन्धनको औपचारिक घोषणा गर्ने समेत उनले जानकारी दिए ।
कार्यदलमा एमाओवादीका तर्फबाट नेता वर्षमान पुन, तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदेयश त्रिपाठी र संघीय समाजवादीका तर्फबाट महासचिव श्रेष्ठ रहेका छन ।