काँग्रेसले सरकार र संविधानका लागि वार्ता थाल्ने

काठमाण्डु टुडे २०७० मंसिर २१ गते १३:०२ मा प्रकाशित

काठमाण्डु, २१ मंसिर– संविधानसभा निर्वाचनबाट सबैभन्दा ठूलो दलका रुपमा स्थापित भएको नेपाली काँग्रेसले राष्ट्रिय सहमति निर्माणका लागि अन्य दलसँग वार्ता थाल्ने निर्णय गरेको छ ।
nc flagशुक्रबार बसेको पार्टी संसदीय बोर्ड बैठकले सरकार गठन र एक वर्षभित्र संविधान निर्माणका लागि संविधानसभामा प्रतिनिधित्व गर्ने अन्य दलसँग वार्ता थाल्ने निर्णय गरेको हो । नेता अर्जुननरसिंह केसीले निर्वाचनमा जनताले सबै दल मिलेर जान अभिमत दिएकाले सरकार र संविधान लेखनका लागि दलीय सहमतिको प्रयास गर्ने निर्णय भएको जानकारी दिए । केसीले समानुपातिकतर्फ सभासद चयन प्रक्रिया सकिएलगत्तै वार्ता सुरु गर्ने उल्लेख गरे ।
‘जनताले निर्वाचनमार्फत मिलेर जान अभिमत दिएका छन्’, केसीले काठमाण्डु टुडेसँग भने, ‘राष्ट्रिय सहमति निर्माणका लागि दलहरुका बीचमा सघन वार्ता थाल्ने निर्णय भएको छ ।’ बैठकपछि काँग्रेस संसदीय बोर्डका तर्फबाट जारी गरिएको विज्ञप्तिमा एक वर्षभित्रै नयाँ संविधान दिन पार्टीले सबै दलसँग सहमति र सहकार्य गर्ने उल्लेख छ । ‘संविधान निर्माण र राज्य सञ्चालनमा नेपाली काँग्रेस सबै राजनीतिक दलहरुसँग सहमति
र सहकार्यका साथ अघि बढ्न चाहन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘ एक वर्षभित्रैमा संविधान निर्माण कार्यलाई पूर्णता दिएर नयाँ संविधान देशलाई दिनुपर्छ भन्ने नेपाली काँग्रेसको प्रतिबद्धता हो, यसका लागि नेपाली काँग्रेस सबै राजनीतिक दलहरुसँग वार्ता, संवादलाई सघन रुपबाट अघि बढाउने निर्णय गर्दछ ।’ काँग्रेसले सरकार र निर्वाचन आयोगलाई शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराएकामा धन्यवाद दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us