म अझै ९० मिनेट खेल्न तयार छैनः यामल

काठमाण्डु टुडे २०८३ असार ६ गते ७:५४ मा प्रकाशित

काठमाण्डू, ६ असार– स्पेनका युवा स्टार लामिन यामलले आफू अझै पूरा ९० मिनेट खेल्न तयार नभएको बताएका छन । ह्यामस्ट्रिङ चोटबाट पुनरागमनको क्रममा रहेका उनले साउदी अरेबियाविरुद्धको विश्वकप खेलअघि यामलले यस्तो बताएका हुन ।

१८ वर्षीय यामलले शुक्रबार स्पेनी सरकारी प्रसारक आरटीभीईसँग कुरा गर्दै भने, ‘अहिल्यै पूरा खेल खेल्नु निकै चाँडो हुन्छ, त्यसको आवश्यकता पनि छैन । तर प्रशिक्षकले जति समय खेलाउन चाहनुहुन्छ, म त्यति खेल्न तयार छु ।’

युरोपियन च्याम्पियन स्पेनले समूह ‘एच’ को पहिलो खेलमा विश्वकपमा पहिलो पटक सहभागी भएको केप भर्डेसँग गोलरहित बराबरी खेलेपछि दबाबमा परेको छ । स्पेनले अब आइतबार साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै पहिलो जितको खोजी गर्नेछ ।

बार्सिलोनाका विङ्गर यामल अप्रिलको मध्यतिर ह्यामस्ट्रिङमा चोट बोकेपछि मैदानबाहिर थिए । उनले सोमबार केप भर्डेविरुद्धको खेलमा ७१ औँ मिनेटमा मैदान प्रवेश गर्दै चोटपछि पहिलो खेल खेलेका थिए ।

स्पेनका मुख्य प्रशिक्षक लुइस दे ला फुएन्टेले बिहीबार रेडियो कोपेसँग कुरा गर्दै यामलले यस विकेन्डमा करिब एक घण्टा खेल्न सक्ने बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us