रातारात ललितपुर प्रहरी कार्यालय पुगेका गृहमन्त्रीले सोधेः यहाँको हाकिम खोइ ?

काठमाण्डु टुडे २०८३ असार ६ गते १:०४ मा प्रकाशित

काठमाण्डू, ६ असार– गृहमन्त्री सुधन गुरुङ कुनै पूर्वसूचना नदिई बिहीबार राति ९ बजेपछि जिल्ला प्रहरी परिसर ललितपुर पुगेका छन । त्यसबेला जावलाखेलको सडकमा रातो मच्छिन्द्रनाथको जात्रा चलिरहेको थियो भने जिल्लाका जिम्मेवार प्रहरी अधिकृतहरू जात्रा सुरक्षामा खटिएका थिए ।

अचानक कार्यालयमा गृहमन्त्री पुगेको खबर पाएपछि ड्युटी छोड्ने कि मन्त्रीको स्वागतमा पुग्ने भन्ने दोधारमा परे प्रहरी अधिकारीहरू परे । मन्त्री गुरुङ प्रहरी परिसर पुग्दा त्यहाँ सबभन्दा ठूला अधिकृत थिए, डीएसपी अर्जुन केसी । न अगुवा–पछुवा गाडी न त गृहमन्त्री आएकै कुनै संकेत । यस्तो हुँदा कार्यालय ड्युटीमा रहेका प्रहरी पनि एक छिन अन्योलमा परे ।

तर, अनुहार हेरेर चिनेपछि डीएसपी केसीले गृहमन्त्रीलाई स्वागत गरे । उनी निजी नम्बर प्लेटको गाडी आफैँ चलाएर त्यहाँ पुगेका थिए । साथमा केही साथी पनि थिए । सुधनले डीएसपी कार्कीलाई सोधे, ‘यो अफिसको हाकिम खोइ ?’ त्यसबेला त्यहाँका एसएसपी तुलबहादुर कार्की र एसपी गौतम मिश्र मच्छिन्द्रनाथको जात्रा ड्युटीका लागि फिल्डमै थिए ।

‘सरहरू ड्युटी गइस्येको छ’, डीएसपी केसीले जवाफ दिए । यसबीचमा कार्यालयमा गृहमन्त्री आएको खबर एसएसपी कार्की र एसपी मिश्रले पाइसकेका थिए । हस्याङफस्याङ गर्दै उनीहरू कार्यालय पुगे । तर, गृहमन्त्री गुरुङ गाडी त्यहीँ छोडेर बाहिर निस्किए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us