रास्वपाको पहिलो महाधिवेशनमा रवि लामिछानेकै नेतृत्व अपरिहार्य छः रञ्जु न्यौपाने

काठमाण्डु टुडे २०८३ असार ६ गते ०:४९ मा प्रकाशित

काठमाण्डू, ६ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु न्यौपानेले पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा सभापति रवि लामिछानेकै नेतृत्व आवश्यक रहेको तर्क गरेकी छन ।

शुक्रबार सङ्घीय संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पार्टीको सङ्गठन सुदृढीकरणका लागि यो पहिलो महाधिवेशन भएकाले लामिछानेको नेतृत्व अपरिहार्य रहेको बताएकी हुन ।

सांसद न्यौपानेले चितवनमा आयोजना हुने पार्टीको महाधिवेशनलाई देश–विदेशबाट निकै चासोका साथ हेरिएको बताइन् । महाधिवेशनमा आफ्नो उम्मेदवारीका विषयमा स्पष्ट पार्दै उनले सुरुमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने र त्यसपछि मात्र पदाधिकारीका लागि अघि बढ्ने पनि उनले बताइन ।

आफ्नो राजनीतिक धारणा र उम्मेदवारीबारे स्पष्ट पार्दै उनले भनिन्, ‘महाधिवेशन कुनै पनि राजनीतिक दलको दिशा र नीति तय गर्ने महत्त्वपूर्ण माध्यम हो । सङ्गठनलाई अझ बलियो बनाउन पहिलो महाधिवेशनमा रवि लामिछाने नै सभापति हुनुपर्छ भन्ने मेरो व्यक्तिगत र राजनीतिक बुझाइ छ ।

पदाधिकारी बन्नका लागि पहिला केन्द्रीय सदस्यमा निर्वाचित हुनुपर्ने वैधानिक प्रक्रिया छ, त्यसैले म सुरुमा केन्द्रीय सदस्यमै लड्छु ।’पार्टीभित्रको आन्तरिक असन्तुष्टि र सामाजिक सञ्जालमा भइरहेका विभिन्न टीकाटिप्पणीका विषयमा बोल्दै उनले रास्वपाप्रतिको बढ्दो जनआकर्षणका कारण यस्ता वहस र छलफल हुनु स्वाभाविक भएको उल्लेख गरिन् ।

पार्टी विभाजन हुन लागेको भन्ने बजारका हल्ला र सम्भावनालाई पूर्ण रूपमा नकार्दै उनले नेतृत्व तहबाट त्यस्ता गतिविधिमा कुनै पनि किसिमको समर्थन नरहेको प्रस्ट पारिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us