रास्वपामा सहमतिको प्रयास भइरहेको छ, नभए लोकतान्त्रिक पद्धतिः भूपदेव शाह

काठमाण्डु टुडे २०८३ असार ६ गते ०:४२ मा प्रकाशित

काठमाण्डू, ६ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको जानकारी गराएका छन ।

महाधिवेशन उद्घाटनस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै रास्वपा महामन्त्री शाहले यस्तो बताएका हुन । महामन्त्री शाहले सबै एकै ठाउँमा उभिएका कारण दुई तिहाइ हासिल गर्न सकिएको भन्दै महाधिवेशनमा पनि सबै एक ठाउँमा हुने समेत जानकारी दिएका छन । उनले भने, ‘सबै जना महाधिवेशनबाट पनि सम्मानित रूपमा आउने वातावरण बनाउन हामी अहोरात्र खटिरहेका छौँ ।’

सहमतिको वातावरणका लागि सबै प्रयास भइराखेको उनले बताए । ‘यद्यपि सहमति हुन सकेन भने पनि लोकतान्त्रिक पद्धतिमा प्रतिस्पर्धात्मक माहोलबाट साथीहरू आउनुहुनेछ,’ उनले भने ।

पार्टी जीवनमा सबैभन्दा महत्त्वपूर्ण पर्वका रूपमा महाधिवेशनलाई लिएको पनि उनले जानकारी दिए । चर्को गर्मीमा पनि चितवनलाई महाधिवेशनका लागि किन रोजियो ? भन्ने प्रश्नमा महामन्त्री शाहले भने, ‘पार्टीको जन्म भएको ठाउँ, एउटा आन्दोलनबाट यो पार्टी स्थापना भयो, यो हाम्रो उद्गम भूमि पनि हो, सबै हिसाबले सोचेर चितवन रोजेका हौँ ।’

चितवनमा तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले गर्ने कार्यक्रम रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us