चितवनमा रास्वपा महाधिवेशन तयारी

काठमाण्डु टुडे २०८३ असार ६ गते ०:३६ मा प्रकाशित

काठमाण्डू, ६ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि उद्घाटन स्थल निर्माण तीव्र पारिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–१० स्थित गेस्टहाउस चौरमा संरचना निर्माण धमाधम भइरहेको छ । उद्घाटन सत्रका लागि जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त डोम निर्माण गरिएको छ ।

डोमको छानो पानी र घामको प्रकाश नछिर्ने ‘टेन्साइल फेब्रिक’बाट तयार पारिएको छ । यसको निर्माण मिडिया स्पेस सोलुसन काठमाडौँले गरिरहेको हो। करिब तीन हजार वर्ग मिटर क्षेत्रफलमा तीन वटा डोम जोडेर एउटै विशाल हल तयार पारिएको छ । उक्त संरचनाभित्र एलइडी स्क्रिन, पङ्खा, कुलर तथा कुर्सी व्यवस्थापनका लागि पर्याप्त स्थान हुने बताइएको छ ।

अहिले उक्त हल भएको ठाउँमा रास्वपाको चुनाव चिह्न घण्टी अंकित निलो झन्डाले सजाइएको छ । महाधिवेशनमा सहभागी तथा आगन्तुकका सवारीसाधनका लागि केन्द्रीय बस टर्मिनल क्षेत्रमा पार्किङ व्यवस्थापन मिलाइएको रास्वपाले जनाएको छ । रास्वपाले उद्घाटन सत्रमा राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताहरुलाई निमन्त्रण समेत गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us