प्रधानमन्त्रीले आईटी र एआईसम्बन्धी सबै जिम्मेवारी आफू मातहत राखेकोमा महावीरको गुनासो

काठमाण्डु टुडे २०८३ असार ४ गते १३:०७ मा प्रकाशित

काठमाण्डू, ४ असार– प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आइटी र एआइसम्बन्धी सबै जिम्मेवारी आफू मातहत राखेको गुनासो गरेका छन् ।

आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष ०८३–०८४ को वार्षिक विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो गुनासो गरेका छन ।

मन्त्री पुनले भनेका छन, ‘प्रधानमन्त्रीले आईटीसम्बन्धी, एआईसम्बन्धी सबै जिम्मेवारी पहिले सञ्चार मन्त्रालयमा थियो । अहिले त्यहाँबाट तानेर आफू मातहतमा राख्नुभएको छ । र उहाँले यो मात्रै गर्ने होइन ।

हामी सबैले मिलेर गर्नुपर्ने हो ।’ तथापि, सरकारको मुख्य उद्देश्य नै एआई, आईटीलाई कसरी बढी भन्दा बढी प्रयोग गरेर अगाडि बढाउने भन्ने रहेको उनले बताए । प्रविधि तथा नवप्रवर्तन मन्त्रालय नयाँ मन्त्रालय हो ।

यो मन्त्रालयलाई सरकारले आगामी आर्थिक वर्षका लागि कूल बजेटको एक प्रशिशत रकम विनियोजन गरेको छ । यसको रकम चार अर्ब रहेको प्रविधि तथा नवप्रवर्तन मन्त्री पुनले जानकारी दिएका छन ।

यो मन्त्रालय २०५३ सालमा पनि बनेको उनले बनाए । त्यसयता कहिले कुन मन्त्रालय, कहिले कुन मन्त्रालयमा जोडिँदै आएको र अहिले छुट्टै रुपमा बनेको पनि बताए ।

विगतमा मन्त्रालय बने पनि यसको सही व्यवस्थापन हुन नसकेको बताए । राजनीतिक भागबन्डामा मिलाउन यो मन्त्रालय दिने र कर्मचारी त्यस्तै दिने प्रवृत्ति विगतमा रहेको स्मरण गरे । अहिले छुट्टै मन्त्रालय बनेकाले नयाँ ढंगले काम गर्नुपर्ने दायित्व रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us