प्रधानमन्त्रीबारे कांग्रेस सचेतकको टिप्पणीः चिया पिउन भ्याउनुहुन्छ, किसानको समस्या समाधान गर्न फुर्सद छैन

काठमाण्डु टुडे २०८३ असार ३ गते १२:५४ मा प्रकाशित

काठमाण्डू, २ असार– प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सरकारले चिया उद्योग र किसानका समस्याप्रति गम्भीर चासो नदेखाएको आरोप लगाएका छन ।

आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले यस्तो बताएका हुन । उनले इलामसहित पूर्वी पहाडी जिल्लाका चिया उद्योग र किसानहरू गम्भीर संकटमा परेको भए पनि सरकारले आवश्यक पहल नगरेको समेत बताएका छन । सामाजिक सञ्जालमा प्रधानमन्त्री चिया पसलमा गएर चिया पिएको देखिए पनि चिया उद्योग र किसानको समस्या समाधानमा भने ध्यान नदिएको टिप्पणी समेत गरेका छन ।

उनले भने, ‘मैले योसँग सातौँ पल्ट भयो कुरा उठाएको। प्रधानमन्त्री मन्त्रीहरूलाई लिएर देश बनाउँदै हुनुहुन्छ। सामाजिक सञ्जालमा हेरेर थाहा पाएको, उहाँ चिया पसलमा गएर चिया पिउन पनि भ्याउनुहुन्छ ।

तर वार्षिक ३ करोड बढी तयारी चिया निर्यात हुने र अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको चिया उद्योगी र किसानको समस्या समाधान गर्न उहाँले फुर्सद पाएको देखेको छैन ।’ भारतीय चिया बोर्डले लागू गरेको नयाँ एसओपीका कारण नेपाली चिया निर्यात प्रभावित भएको बताए ।

गुणस्तर परीक्षणको प्रतिवेदन आउन दुई साताभन्दा बढी समय लाग्ने, प्रतिवेदन नआएसम्म चिया बिक्री गर्न नपाइने तथा सामान्य समस्या देखिए पनि उत्पादित चिया नष्ट गर्नुपर्ने व्यवस्थाले उद्योगीहरू समस्यामा परेको उनले बताए ।

उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको, श्रमिकको रोजगारी गुमेको तथा उद्योगीहरू बैङ्कको ऋणको ब्याज तिर्न नसक्ने अवस्थामा पुगेको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us