काठमाण्डू, २ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले विधिभन्दा बाहिर रहेर पालिका अध्यक्षलाई ‘स्पष्टीकरण’ सोधेका छन् ।
रास्वपा कार्यकर्ताले स्याङ्जास्थित अर्जुन चौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीलाई ‘स्पष्टीकरण’ सोधेका हुन । पालिकाका विकास आयोजना, विद्यालयका शिक्षक सरुवा लगायतका विषयहरूमा जानकारी लिन रास्वपा कार्यकर्ताले ‘स्पष्टीकरण’ सोधेका हुन् ।
तथ्यपरक, पारदर्शी र आधिकारिक ‘स्पष्टीकरण’को माग रास्वपा कार्यकर्ताको माग छ । दरौंखोला तटबन्ध, विद्यायल मर्जर तथा शिक्षक सरुवा, शिक्षकलाई स्पष्टीकरण र कारबाही, विद्यालयको शैक्षिक वातावरण, बाटो पिच, नवग्रह कृषि फर्ममा लगानी, खानेपानी व्यवस्थापन लगायतका १० विषयमा रास्वपा कार्यकर्ताले ‘स्पष्टीकरण’ सोधेका छन् ।
रास्वपाका अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष कमलकान्त अर्याल र सचिव प्रकाश देवकोटाले पालिका अध्यक्षलाई ‘स्पष्टीकरण’ सोधेका हुन् । पालिका अध्यक्ष तिवारीले ‘स्पष्टीकरण’को ठाडै अस्वीकार गरेका छन् । ‘कानुनको सामान्य ज्ञान समेत नभएकाहरूले कोरेको यो दस्तावेज कुनै जिम्मेवार राजनीतिक दलको पत्र हुनै सक्दैन,’ पालिका अध्यक्ष तिवारी भन्छन्, ‘विधिको शासन सिकाउन हिंडेको पार्टीका कार्यकर्ताहरूमा सामान्य संविधान र कानुन पनि थाहा नहुनु लज्जास्पद छ ।’
गाउँपालिका अध्यक्ष महासंघको अध्यक्ष लक्ष्मी पाण्डेले दलका कार्यकर्ताले पालिका अध्यक्षलाई ‘स्पष्टीकरण’ सोध्न नमिल्ने बताइन् ।
‘पालिका अध्यक्षलाई सरकारी निकायहरूले स्पष्टीकरण सोध्न सक्छन् । स्पष्टीकरण सोध्ने विधिहरू छन्,’ महासंघ अध्यक्ष पाण्ड भन्छिन्, ‘कोहीप्रति केही कुरामा चित्त बुझेन भनेर मनलाग्दी स्पष्टीकरण सोध्न मिल्दैन ।’