सांसदहरूलाई सभामुखको आदेश – प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसदमा नदेखाउनू

काठमाण्डु टुडे २०८३ जेठ ४ गते १३:१९ मा प्रकाशित

काठमाण्डू, ४ जेठ– प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउन आदेश गरेका छन । आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित श्रम संस्कृति पार्टीको विरोध गरेको छ ।

उनीहरूले सुरुमा प्ले कार्ड सभामुखलाई अगाडि गएर देखाए । त्यसपछि छातीमा पर्चा टाँसेर सभाको बैठकमा सहभागी भए । त्यसपछि सभामुखले भने, ‘श्रम संस्कृति पार्टीकोतर्फबाट माननीय सदस्यहरूले पर्चा लिएर सभामुखको अगाडि प्रदर्शन गर्नुभयो’, उनले भने, ‘प्रतिनिधिसभाको यो सभा साच्चि नै महत्वपूर्ण हुने र कानुन निर्माण गर्ने महत्वपूर्ण थलो हो ।’

यसक्रममा सभामुखले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्मा नदेखाउन आदेश गरेका हुन् । सभामुखले अर्यालले भनेका छन्, ‘त्यसकारणले विरोध गर्ने बिभिन्न शैलीहरू हुन्छन् । तर मर्यादामा बसेर विरोध गर्नुपर्ने हुन्छ । मर्यादामा बसेर विरोध गरिदिन म यहाँहरूलाई आगामी दिनमा यो आदेशकै रुपमा पनि लिइदिन म जानकारी गराउँछु ।’

यस्तो शैलीलाई उनले असंसदीय समेत भनेका छन् । ‘पर्चा देखाएर विरोध गर्ने सदनमा यो हाम्रा कानुन अथवा नियमावली न हाम्रा प्राक्टिस कसैले पनि दिएको देखिँदैन्’, सभामुखले भनेका छन्, ‘यसकारण आगामी दिनमा विरोध गर्ने शैली मर्यादापूर्वक तरिकाले गर्नका लागि म जानकारी गराउँछु ।’ सभामुखले यस्तो आदेश गरेपछि पनि श्रम संस्कृतिका पार्टीका सांसदहरू छातीमा पर्चा टाँसेरै बसिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us