संख्याको दम्भमा विधि मिच्ने काम नहोस्ः प्रचण्ड

काठमाण्डु टुडे २०८३ वैशाख २९ गते १५:२२ मा प्रकाशित

काठमाण्डू, २९ वैशाख– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संख्याको बलमा विधि मिच्ने काम नगर्न अनुरोध गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।

उनले जनताले गरेको विश्वासलाई विधि बलियो बनाउनेतर्फ लाग्न आग्रह समेत गरेका छन । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘मेरो आग्रह छ, संख्याको दम्भमा विधि मिच्ने काम नहोस् ।

तपाईंहरूलाई जनताले यतिबेला विश्वास गरेका छन् । त्यो विश्वास विधि बलियो बनाउनेतर्फ लागोस् ।’ साथै, उनले आफैंले बनाएको संसद् स्थगित गरेर जनप्रतिनिधिलाई छलेर एकपछि अर्को अध्यादेशमार्फत शासन चलाउन खोज्नु लोकतन्त्रको भावना विपरीत भएको पनि बताएका छन ।

‘आफैंले बनाएको संसद् स्थगित गरेर जनप्रतिनिधिलाई छलेर एकपछि अर्को अध्यादेशमार्फत शासन चलाउन खोज्नु लोकतन्त्रको भावना विपरीत छ भन्ने कुरा हामी सबैले महसुस गर्नैपर्छ,’ उनले भने ।

प्रतिशोधनको गन्ध आउनेगरी धरपकड सुरु गरिएको भन्दै यो कुरा पद्धति र प्रणालीका लागि स्वीकार्य नहुने प्रचण्डको भनाइ छ । ‘जसरी प्रतिशोधनको गन्ध आउनेगरी धरपकड सुरु गर्नुभयो, सरकारको आलोचना गर्नेलाई थुन्ने काम गर्नुभयो यो लोकतान्त्रिक पद्धति र प्रणालीका लागि स्वीकार्य हुन सक्दैन,’ प्रचण्डले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us