काठमाण्डू, २९ वैशाख– बाराको निजगढ नगरपालिका–९ बुद्धचोकस्थित गुरुङ होटलमा बस्न जाँदा शङ्कास्पद मृत्यु भएकी युवतीको शव पोस्टमार्टमका लागि काठमाण्डू पठाइएको छ ।
गत २५ वैशाखमा निजगढ–१२ बस्ने २५ वर्षीया सीता थिङ होटलभित्र घाइते अवस्थामा रहेको जानकारी पाएपछि प्रहरीले उनलाई नजिकैको सामुदायिक अस्पताल प्रसूति गृहमा पठाएको थियो ।
अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । उनको शव पोस्टमार्टमका लागि काठमाण्डू स्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको बाराका एसपी नरेन्द्र कुँवरले जानकारी दिए ।
उनले भने, ‘शव शिक्षण अस्पताल पठाएका छौं, पोस्टमार्टम रिपोर्ट आएको छैन ।’ मृतक थिङसँगै १८ वर्षीया अनु सुनार, जितपुर सिमरा उपमहानगरपालिका–१६ टाङ्गिया बस्तीमा बस्ने ३५ वर्षीय महेश माझी र ३६ वर्षीय सुनिल बोम्जन होटलमा सँगै गएका थिए ।
महेश माझी र सीता थिङ एउटा कोठामा बसेका थिए । प्रहरीले मृतकसँगै गएका ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू विरुद्ध इलाका प्रहरी कार्यालय निजगढले ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । मृतकसँगै बसेका माझीले शौचालयमा गएर थिङ झुण्डिएपछि उद्धार गरेको जिकिर गरेका छन् । मृतकको घाँटीमा मार्क देखिएको छ ।
अर्को कोठामा बसेका अनु सुनार र सुनिल बोम्जनले पनि झुन्डिएको अवस्थामा आफूहरूले उद्धार गरेको प्रहरीलाई बताएका छन् । माझीको दाहिने गालामा चोट देखिएको हुनाले झगडा हुँदा हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । बाराका एसपी कुँवर भन्छन्, ‘हत्याको मनसाय थियो कि थिएन भन्नेबारे अनुसन्धान गर्दै छौं ।’