काठमाण्डू, २९ वैशाख– पूर्व मन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सांसद् वर्षमान पुन अनन्तले मिनी पार्लियामेन्टका रुपमा रहेका संसदीय समितिमा सञ्चार माध्यमलाई निषेध गर्न नहुने बताएका छन ।
आज (मंगलबार) प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै पुनले मिडियालाई निषेध गरेर कुनै छलफल हुन नहुने बताए । लोकतन्त्रमा सुशासन, जवाफदेहीता र पारदर्शीता सँगसँगै अगाडि जानुपर्ने उनले बताए ।
पुनले भने, ‘लेखा समितिसहित संसद्का अरु समितिमा मिडिया राखेर छलफल हुनुपर्छ, संसदीय समितिहरु सञ्चार माध्यमका लागि बन्द गरेर पारदर्शीता र लोकतन्त्रको कुरा गर्न मिल्दैन ।’ जनताले तिरेको करबाट राज्यले गर्ने खर्चको पारदर्शीता सुनिश्चित गर्ने भएकाले लेखा समितिको काम अरुभन्दा फरक प्रकृतिको रहेको उनले औंल्याए ।
‘जनताको करबाट राज्यले गर्ने खर्चको परादर्शीता सुनिश्चित गर्ने समिति भएको हुनाले देश र जनतालाई केन्द्रमा राखेर समितिलाई प्रभावकारी बनाउनुपर्छ ।’ फरक प्रसंगमा उनले समितिले नयाँ र पुरानाका आधारमा नभई सही र गलतका आधारमा छलफल गर्ने पनि बताए । पुराना सबै बेठीक र नयाँ सबै ठीक भन्ने आधारमा जान नहुने बताए ।
‘राज्य सञ्चालनमा नयाँ र पुराना भन्ने हुँदैन । सही र गलत भन्ने हुन्छ’, पुनले भने, ‘सही र गलतका आधारमा मापदण्ड बन्नुपर्छ । पुराना त्यसै बेठीक र नयाँ सबै ठीक भन्ने हुँदैन ।’