देउवा समूहको प्रदेशस्तरीय भेला विराटनगरमा

काठमाण्डु टुडे २०८३ वैशाख २९ गते १२:२४ मा प्रकाशित

काठमाण्डू, २९ वैशाख– काङ्ग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आज (मङ्गलबार) देखि प्रदेशस्तरीय भेला सुरु गर्दै छ । पार्टीले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत प्रदेशस्तरीय भेलाहरू गरिरहेकै बेला देउवा समूहले पनि आन्तरिक रणनीति तय गर्न भेला सुरु गर्न लागेको हो । देउवा समूहले मङ्गलबार कोशी प्रदेशस्तरीय भेला मोरङको विराटनगरमा गर्दै छ ।

नेता मीन विश्वकर्माले विचार समूहमा रहेका नेताहरूलाई एकताबद्ध राख्दै आन्तरिक छलफललाई प्रभावकारी बनाउन भेला आयोजना गरिएको जानकारी दिएका छन । ‘विचार समूहको प्रदेशस्तरीय भेलाको उद्देश्य पार्टी सङ्गठन सुदृढ बनाउने, १५औँ महाधिवेशनको तयारी अघि बढाउने र निराश बनेका साथीहरूलाई पुनः सक्रिय र एकताबद्ध बनाउने हो,’ उनले भने ।

वर्तमान राजनीतिक अवस्था र मुलुकको दिशाबारे साझा बुझाइ बनाउँदै अब कसरी अघि बढ्ने भन्ने विषयमा पनि प्रदेशस्तरीय भेलामा छलफल हुने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us