कांग्रेस सचेतक राईको प्रश्नः भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने व्यवस्था किन ?

काठमाण्डु टुडे २०८३ वैशाख २८ गते १४:४५ मा प्रकाशित

काठमाण्डू, २८ वैशाख– कांग्रेसका सचेतक निश्कल राईले भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने व्यवस्था किन गरिएको भनेर संसद्‌मा प्रश्न उठाएका छन ।

प्रतिनिधिसभा नियमावली मस्यौदाको नियम २५९ मा यससम्बन्धी व्यवस्था छ । जसले सांसदलाई प्रतिनिधिसभा नियमावली नै मूल कानुन हुने र अन्य कानुनले जे जस्तो व्यवस्था गरे पनि नियमावली नै लागू हुने भनेको छ ।

प्रतिनिधिसभा नियमावलीको नियम २५९ मा ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि सभा, समिति र सदस्यको हकमा यो नियमावली संघीय कानूनको रूपमा रही विशेष कानूनसरह लागू हुने’ भनिएको छ । ‘यो नियमावली प्रतिनिधिसभा सदस्यको विशेषाधिकारको रूपमा रहने’ विषय पनि प्रतिनिधिसभा नियमावलीमा छ ।

अर्थात्, प्रतिनिधिसभा सदस्यको विशेषाधिकार अन्तर्गत प्रचलित अन्य कानूनले सांसद पद निलम्बन हुने भनेर राखेको प्रावधानलाई काट्ने मनसायले नियम २५९ ल्याएको देखिन्छ । यसमा कांग्रेसले प्रश्न उठाएको हो । प्रतिनिधिसभाको आज (सोमबार) बसेको बैठकमा आकस्मिक समय लिएर बोल्दै कांग्रेसका सचेतक निश्कल राईले भने, ‘भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने व्यवस्था किन ?’ प्रस्तावित नियम २५९ भ्रष्टाचार र सम्पति सुद्धीकरण ऐन सँग बाझिने उनले बताए ।

अगाडि भने, ‘संसद्, संसदीय समिति र सांसदलाई अन्य कानुनले छुनै नसक्ने हामी यति सुप्रिम कसरी हुन सक्छौं ?’ सरकार अध्यादेशमार्फत् अगाडि बढ्न खोजेको पनि उनले बताए । संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले संविधानको मर्म नै लत्याएको पनि उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us