काठमाण्डू, २८ वैशाख– सर्लाहीमा सडेको अवस्थामा एक पुरुषको भेटिएको छ । आइतबार साँझ करिब ४ः३० बजे गोडैता नगरपालिका–६ बग्दहस्थित चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा बेवारिसे अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डीएसपी सरोज राईले जानकारी दिएका छन ।
स्थानीयवासीले सडक आसपासबाट दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त भएपछि प्रहरी चौकी गोडैताबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीका अनुसार अन्दाजी ४० देखि ४५ वर्ष उमेर समूहका पुरुषको शव सडेगलेको अवस्थामा शव फेला परेको हो । शव अत्यधिक सडेकाले मृतकको पहिचान खुल्न सकेको छैन ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।