काठमाण्डू, २८ वैशाख– राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । सरकारले यही वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न अन्तिम ‘समयसीमा’ दिएपछि बोर्डले तीव्र गतिमा काम गरेको हो ।
कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने, ‘सरकारले वैशाख २९ गतेभित्र एसइईको नतिजा सार्वजनिक गर्न अन्तिम समयसीमा दिएको थियो, त्यो सीमाभित्र नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेका छौँ, परीक्षार्थीको प्राप्ताङ्क ‘कम्प्युटर’मा ‘इन्ट्री’ गर्ने काम सकिएको छ, कि कतै केही गल्ती छ कि भनेर रुजु गर्ने काम पनि करिब सकिएको छ, कुनै प्राविधिक समस्या नआए मङ्गलबार नतिजा सार्वजनिक गर्छौं ।’
बोर्डको परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गरी एसइईको नतिजा कसरी हेर्ने भन्ने बारेमा जानकारी दिएको छ । कार्यालयले नतिजा हेर्न ‘एसएमएस’ गरेर वा सिधै ‘वेबसाइट’मा गएर एसइईको नजिता हेर्न सकिने व्यवस्था गरेको छ ।
यस वर्ष गत चैत १९ गतेदेखि देशभरका एक हजार ९६६ परीक्षा केन्द्रबाट परीक्षा सुरु भएको थियो । यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले र जापानको एक परीक्षा केन्द्रबाट २३ जना परीक्षामा सहभागी हुन आवेदन दिएका थिए ।