तीन बालक होस्टेलबाट निस्किएपछि…

काठमाण्डु टुडे २०८३ वैशाख २८ गते १२:४८ मा प्रकाशित

काठमाण्डू, २८ वैशाख– सिरहाको लहानस्थित एक बोर्डिङ स्कुलको होस्टेलबाट निस्किएका तीन बालकलाई सप्तरी प्रहरीले भेटेर अभिभावकको जिम्मा लगाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार वैशाख २८ गते बिहान करिब ४ः ३० बजे सुरुङ्गा नगरपालिका–४ कदमाहास्थित क्षेत्रमा गस्तीमा रहेको प्रहरी टोलीले तीन बालकलाई पैदल हिँडिरहेको अवस्थामा फेला पारेको थियो ।

प्रहरी चौकी लक्ष्मीपुरबाट प्रहरी सहायक निरीक्षक संजय झाको कमाण्डमा खटिएको टोलीले लहानबाट कदमाहातर्फ जाँदै गरेका बालकलाई शंकास्पद अवस्थामा देखेपछि सोधपुछ गरेको थियो ।

सोधपुछका क्रममा उनीहरू सिरहाको लहानस्थित गोल्डेन इङ्गलिश बोर्डिङ स्कुलको होस्टेलमा बस्दै अध्ययनरत रहेको र कसैलाई जानकारी नदिई होस्टेलबाट निस्किएको खुलेको प्रहरीले जनाएको छ ।

फेला पर्नेमा सप्तरीको बोदेबरसाइन नगरपालिका–३ गौराटोल निवासी १२ वर्षीय, १० वर्षीय र ७ वर्षीय बालबालिका रहेका छन् । प्रहरीले तीनै बालकलाई प्रहरी चौकी लक्ष्मीपुरमा राखेर आवश्यक प्रक्रिया पूरा गरेपछि अभिभावकको जिम्मा लगाएको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us