प्रधानन्यायाधीश सिफारिस कसरी असंवैधानिक ? बुझिनँ मैले, बुझाइदेऊ कसैलेः रवि लामिछाने

काठमाण्डु टुडे २०८३ वैशाख २७ गते १७:१० मा प्रकाशित

काठमाण्डू, २७ वैशाख– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानन्यायाधीश सिफारिसको विषयलाई सडकको मुद्दा नबनाउन अनुरोध गरेका छन ।

आज (आइतबार) रास्वपा सांसदहरूलाई प्रशिक्षण दिन आयोजित कार्यक्रमको समापनका क्रममा आइतबार (वैशाख २७) उनले संविधानको व्यवस्थाअनुसार नै संवैधानिक परिषद्को बैठकबाट नयाँ प्रधानन्यायाधीश सिफारिस गरिएको स्पष्ट पारे । उनले यो प्रक्रिया कसरी असंवैधानिक भयो ? भन्दै प्रश्न समेत गरेका छन ।

सभापति लामिछानेले भने, ‘एकजना कसैले भन्दिनुस्, कसरी असंवैधानिक भयो ? असंवैधानिक भएको भए ६ जना न्यायाधीशलाई प्रधानन्यायाधीश बन्न योग्य भनेर संवैधानिक परिषद्‌मा किन सिफारिस गरेको ? त्यही असंवैधानिक काम भयो होला नि ।’ सर्वोच्च अदालतका सबैभन्दा ‘सिनियर’ न्यायाधीशलाई नै प्रधानन्यायाधीशमा सिफारिस गर्नुपर्ने भन्ने व्यवस्था संविधानमा नरहेको समेत उनले बताए यो विधि गलत भए संविधान संशोधनका विषयमा बहस गर्न उनले आग्रह गरे ।

‘यदि, त्यही (पुरानो) परम्परामा जाने भए ६ जनाको उपस्थितिमा संवैधानिक परिषद्‌मा एकजना नियुक्ति सकिँदैनथ्यो । आज कसलाई कतिजनाको भाग लगाउने भनेर भागबन्डामा छलफल चलिरहेको हुन्थ्यो, उनले भने ।

उनले आफूहरू सरकारमा आउनुपूर्व नै न्यायाधीशको नाम ‘सर्टलिस्ट’ भइसकेको बताए । विधिबाटै सिफारिस गरिएको भन्दै उनले न्यायाधीशका विषयमा जग हँसाइ नगर्न आग्रह गरे ।

न्याय पाइन्छ भन्नेमा आफूहरू विश्वस्त रहेको उनको भनाइ थियो । उनले प्रधानन्यायाधीश सिफारिसमा ६ मध्ये चारजनाले चुनेको विषय कसरी संविधानविपरीत भयो भन्ने बुझाइदिन आग्रह गरे ।

‘संविधानले गरेको व्यवस्थालाई टेकेर भएको सिफारिस र सिफारिसमध्येबाट संविधानले तोकेको सदस्यहरूले गर्नुभएको भोटिङका आधारमा उपस्थित ६ मध्ये चारजनाले चुन्नुभएको विषय कसरी असंवैधानिक, संविधानविपरीत भयो ? बुझिनँ मैले, बुझाइदेऊ कसैले ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us